२१ भाद्र २०८३, आईतवार

 

व्यवस्थित पार्किङ नहुँदा बागलुङ बजार अस्तव्यस्त

साना–ठूला सवारीसाधन पार्किङ गर्ने व्यवस्थित ठाउँ नहुँदा गण्डकी प्रदेशको दोस्रो व्यापारिक केन्द्र बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ । बजार क्षेत्रमा व्यवस्थित पार्किङ नभएकैले सदरमुकाम भित्रिने सवारी चालक तथा स्थानीय सास्ती खेप्न बाध्य छन् ।

बागलुङ बजारमा बसपार्क रहे पनि त्यो असाध्यै साँघुरो छ । त्यहाँ थोरै गाडी मात्र अटाउने भएकाले सडकमै पार्किङ गर्न थालिएको छ ।
बागलुङ बजारमा मोटरसाइकल, स्कुटीलगायत सवारीसाधन प्रयोगकर्ता ह्वात्तै बढेकाले सरोकारवालासँग समन्वय गरेर बजारभित्रै एकतर्फी पार्किङको व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पाठकले बताए ।

जथाभाबी रोकिएका सवारीका कारण यात्रुलाई हिँडडुल गर्नसमेत सास्ती परिरहेको छ । साँघुरो सडकमा दैनिक सयौं सवारी चलाइने भएकाले दुर्घटनाको जोखिमसमेत बढेको छ ।

बजारक्षेत्रमा जथाभाबी निर्माण सामग्री राख्ने, विभिन्न बहानामा सवारी पार्किङ गर्ने गरिएकाले दैनिकजसो जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीय व्यवसायी हरि सुवेदीले बताए ।

बागलुङ नगरपालिकाले ठेलालगायतका व्यापार बजारभित्र गर्न नपाइने, सवारी पार्किङ व्यवस्थित बनाउने भनी पटकपटक प्रचारप्रसार गर्दै आएको छ ।

तर जननिर्वाचित प्रतिनिधि आएको ३ वर्ष बितिसक्दा १ प्रतिशत पनि प्रगति हुन नसकेको बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।

सदरमुकाममा चार दर्जनभन्दा बढी बैंक तथा वित्तीय संघसंस्था भए पनि कसैले सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाएका छैनन् । ट्राफिक प्रहरीले पटकपटक पार्किङ निषेधका बोर्ड लगाउनुका साथै जरिवाना गर्ने र जनचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको छ ।

तर मोटरसाइकल तथा साना गाडीहरू राख्ने व्यवस्थित स्थान नभएकाले सडकमा राख्नुपर्ने बाध्यता रहेको सवारी चालकहरूको भनाइ छ ।

राजमार्ग मात्र नभई सदरमुकामआसपास आवागमन गरिने मुख्य सडककै विषयमा पटकपटक आवाज उठिसकेको छ। बागलुङ नगरपालिकाले सवारीसाधन पार्किङको विषयलाई गम्भीरतापूर्वक नलिएकाले समस्या निम्तिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung