३ श्रावण २०८३, आईतवार

 

जेठमा बिहुँकोटमा धार्मिक–पर्यटन महोत्सव हुने

बागलुङको बिहुँकोट–५ स्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी जेठमा धार्मिक तथा पर्यटन महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय बिहुँकोट समाजले आफ्नो ३८औं स्थापना दिवस तथा रथयात्राको अवसर पारेर जेठ ११ गते बिहुँ–रामकोट धार्मिक–पर्यटन महोत्सव–२०७८ आयोजना गर्न लागेको हो ।

बिहुँबाट जापान, अमेरिका, पोर्चुगल, बेलायत, क्यानडालगायत देशमा गएर बसेकाहरू आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भनेर एकत्रित भएको समाजका अध्यक्ष एवं धार्मिक अभियन्ता देवीलाल सुवेदीले बताए ।

महोत्सव सफल बनाउन अहिले आर्थिक संकलन भइरहेको र उक्त स्थानमा संस्कृत पाठशालासमेत सञ्चालन गर्ने उद्देश्य रहेको सुवेदीले बताए ।

ओझेलमा परेको धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य रहेको महोत्सव सञ्चालनका लागि गठित समितिका महासचिव हरिप्रसाद कँडेलले जानकारी दिए ।

यसअघि धेरै वर्ष पुरानो मन्दिर जीर्ण भएकाले २०६७ सालमा मन्दिर जीर्णोद्धार गर्न धनधान्याचल महायज्ञ आयोजना गरिएको थियो । त्यस क्रममा यहाँ गण्डकी प्रदेशकै ठूलो शिवलिंग प्रतिष्ठापन गरिएको थियो ।

प्यागोडा शैलीको मन्दिरमा पुराना सभ्यता र संस्कृति झल्कने देवीदेवताका कलात्मक मूर्तिहरू रहेकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने मन्दिर संचालक समितिका सहसचिव ग्यामनाथ कँडेलले बताए ।

हालै महोत्सव आयोजनाका लागि त्रिपुरेश्वर महादेव मन्दिरका प्रधान संरक्षकसमेत रहेका हरिहर संन्यास आश्रम देवघाटका पीठाधीश्वर श्री १००८ ज्ञानानन्द सरस्वतीको आतिथ्यमा बृहत् भेला आयोजना गरियो ।

त्यस क्रममा उनले वर्तमान राजनीतिकर्मीहरूले वैदिक सनातन धर्मलाई बेवास्ता गर्दा आज नेपालीहरूबीचको भाइचारा, नेपाली संस्कृतिप्रति कुठाराघात भएको धारणा व्यक्त गरे । उनले महोत्सवमा सम्पूर्ण वैदिक सनातन धर्मका अनुयायी, उपासक, धर्मप्रेमीजस्ता वैदिक व्यक्तिहरूलाई सहभागी गराउन आग्रह गरे ।

भेलाले महोत्सव सफल बनाउन ३९ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिको प्रधान संरक्षकमा १००८ ज्ञानानन्द सरस्वती, संयोजकमा अन्तर्राष्ट्रिय बिहुँकोट समाजका अध्यक्ष देवीलाल सुवेदी, सहसंयोजकमा गौरीशंकर शर्मा सुवेदी र ग्यामनाथ कँडेल,

महासचिवमा हरिप्रसाद कँडेल, सचिवमा ऋषिराम कँडेल, यमकान्त कँडेल, दीपक कँडेल (हाल जापान), कोषाध्यक्ष डिल्लीप्रसाद कँडेल, सहकोषाध्यक्ष थानेश्वर कँडेल, अनन्त रिजाल (जापान) छन् । त्यस्तै सहसचिवमा प्रकाश कँडेल (अमेरिका), अशोक शर्मा गोपाल, (जापान) कृष्णप्रसाद कँडेल छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung