
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको एउटा तस्बिर पनि भाइरल बनेको छ । सामाजिक सञ्जालमा उनले टेस्ट राइड गरेको इलेक्ट्रिक बाइक र उनको वारेमा चर्चा भएको छ ।
घिसिङले नेपालमै बनेको पहिलो विद्युतीय बाइक यात्रीमा राइड लिएका छन् । पेट्रोल इन्जिनभन्दा शक्तिशाली यात्री बाइक नेपालमै निर्माण गरिएको हो । यो बाइक ६ जना नेपाली युवा इन्जिनियरहरूले विकास गरेका हुन् ।
सन् २०१७ डिसेम्बरबाट शुरु भएको यो परियोजना अन्तर्गत पहिलो विधुतीय बाइक ‘पी–०’ सन् २०१९ को अन्त्यतिर सार्वजनिक गरिएको थियो । वातावरणमैत्री यस विद्युतीय बाइकको हालै व्यावसायिक स्केलमा सार्वजनिकीकरण गरिएको हो ।
यस बाइकको बडी शत प्रतिशत कार्बनफाइबरबाट निर्माण गरिएको छ भने यसले ३० किलोवाट ४० हर्सपावर शक्ति उत्पन्न गर्छ । यसको ब्याट्री ८० प्रतिशत चार्ज हुन २ घण्टा समय लाग्छ भने एकपटकको चार्जबाट दुई सय ३० किमि यात्रा गर्न सकिने बताइएको छ ।