चीनले अनुदान दिएको कोरोना खोप जेठ २५ देखि ज्येष्ठ नागरिकहरूलाई दिइने भएको छ । चीनले नेपाललाई नेपाललाई दस लाख डोज भेरोसेल खोप अनुदान दिएको छ ।
देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए ।
उनले भने, ‘चीनबाट प्राप्त हुने १० लाख डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग पुग्ने विश्वास गरेका छौं ।’ स्वास्थ्य मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ ।
चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइसकेको छ । बाँकी १ लाख डोज पनि बुधबार आउने जनाइएको छ । प्रवक्ता पौडेलका अनुसार भेरोसेल खोप लगाउन जानेलाई नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ४ लाख ३५ हजार १ सय १२ जनाले कोभिसिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् ।
कोभिसिल्ड खोप लगाएका १३ लाखभन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन् । तर उनीहरूले खोप पाउने सुनिश्चित भइसकेको छैन ।
भेरोसेल लगाउने ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन मिलाइएको पनि डा पौडेलले बताए ।





























































































































































































