१७ बैशाख २०८१, सोमबार

 

पञ्चकोटको उत्तरपूर्वी भेगका २१ परिवार पहिरोको जोखिममा

बागलुङ नगरपालिका–६ पञ्चकोटको उत्तरपूर्वी भेगमा गएको पहिरोले भान्सा बलस्वाँर र ढाडस्वाँर गाउँका ११ परिवार र कारिकोट क्षेत्रको पोखरी गाउँका १० परिवार त्रासमा छन् ।

पञ्चकोटको पहिरोका कारण यहाँको पक्की बाटो पूरै थुनिएको छ । ढुंगे सिँढी र रेलिङ पहिरोले बगाएको वडाध्यक्ष खिमराज सापकोटाले जानाकारी दिए ।

बानपा–४ तिरुपति चोकदेखि पञ्चकोट हुँदै गएको क्षेत्रीय सडक विस्तारका क्रममा यस क्षेत्रको माटो खुकुलो भएको र नाली व्यवस्थित नहुँदा पहिरो गएको सापकोटाको भनाइ छ ।

भित्र्याउने बेला भएको मकै र धानको बीउ पहिरोले पुरिदिएको स्थानीयले बताएका छन् ।

उक्त वडाको मैदान टोलमा एउटा गोठ, कालिका भगवती टोलमा दुईवटा घर र एउटा गोठ, धारापानीमा एउटा घर, लमगाँउमा एउटा घर र गोठ, लहरेपिपलमा एक घर र गोठ पहिरोको जोखिमा परेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

‘जोखिम न्यूनीकरण गर्न र जोखिममा परेका परिवारलाई उचित व्यवस्थापन गर्न वडा समितिले पहल गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्