४ श्रावण २०८३, सोमबार

 

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्धाको अन्तिम फैसला भइरहेको बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सोमबार आयोगले केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर जारी गरेको निर्वाचन मितिअनुसार नै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकामा कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिएको छ ।

आयोगको कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ र त्यसै दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने छ । भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

यसैगरी पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तातर्फ असोज २० गते देखि २१ गतेसम्म समय दिइएको छ । साथै, असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता असोज ३१ गते देखि कार्तिक १ गतेसम्मलाई तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ जनाइएको छ । कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

आयोगका अनुसार त्यसै दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र मंसिर ३ गते मतदान हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung