३ श्रावण २०८३, आईतवार

 

तमानखोलामा बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्न नयाँ कार्यक्रम

बागलुङको तमानखोला गाउँपालिकाले विद्यालयमा विद्यार्थी टिकाउन नयाँ कार्यक्रम अघि सारेको छ– ‘बालबालिकालाई झिकाऔं, टिकाऔं र सिकाऔं ।’ सार्वजनिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन गाउँपालिकाले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममै यस्तो व्यवस्था गरिएको हो ।

शिक्षा विकास तथा बालबालिकालाई विद्यालयर्फ आकृष्ट गर्न गाउँपालिकाले २ करोड ४६ लाख ४८ हजार ५ रुपैयाँ विनियोजन गरेको छ ।

उक्त कार्यक्रमका लागि यस वर्ष थप एउटा बालविकास केन्द्र स्थापना गर्नुका साथै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भएबमोजिम बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीका लागि गाउँपालिकाका तर्फबाट ७ हजार थप तलबको व्यवस्था गरिएको छ ।

‘बालबालिकालाई विद्यालयमा घरबाट झिकाउने, टिकाउने र सिकाउने हाम्रो उद्देश्य हो,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘विकट गाउँमा शिक्षाको पहुँच बढाउने र सबै बालबालिकालाई विद्यालयमा ल्याउने हाम्रो योजना छ ।’

अध्यक्ष बुढाका अनुसार यसमा ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔं’ भन्ने अभियानसमेत जोडिएको छ ।

गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकमा रूपान्तरण गर्ने सीपको विकास गर्न ‘एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन’ कार्यक्रमलाई पनि बजेट छुट्ट्याएको छ ।

तमानखोलाको संस्कृति, सम्पदा र ऐतिहासिक स्थललाई राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका गान निर्माण गर्ने योजना रहेको अध्यक्ष बुढाले जानकारी दिए ।

उनका अनुसार यसका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung