२० भाद्र २०८३, शनिबार

 

बागलुङमा गत वर्ष सवारी कारबाहीबाट ६७ लाख राजस्व

गत आर्थिक वर्ष बागलुङमा १२ हजार १ सय सवारीसाधनका चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेका चालकहरूबाट ६७ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

नियमको उल्लंघन गर्ने सवारी चालकहरूबाट राजस्व संकलन गरिएको कार्यालयप्रमुख प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिए ।

‘गाउँदेखि सहरसम्म व्यापक मात्रामा ट्राफिक नियम उल्लंघन भइरहेको छ,’ उनले भने, ‘यसलाई थप व्यवस्थित बनाउन लागिपरेका छौं ।’

कारबाहीमा परेकामध्ये सबैभन्दा बढी कार–जिपका चालक छन् । उक्त अवधिमा ५ हजार १ सय ४१ कार–जिपबाट २७ लाख ६३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

यसैगरी ३ हजार ८ सय ६८ मोटरसाइकलबाट २३ लाख ९ हजार ५ सय, १ हजार ३ सय ६९ ट्याक्टरबाट ७ लाख ३६ हजार ५ सय, १ हजार २ सय ६० ट्रकबाट ७ लाख १३ हजार ५ सय, ४ सय ५३ बसबाट २ लाख ४४ हजार राजस्व उठाइएको छ ।

अन्य ९ वटा साधनबाट थप ६ हजार ५ सय राजस्व संकलन भएको कार्यालय प्रमुख शर्माले बताए ।

कार्यालयका अनुसार सवारी कारबाहीबाट गत आर्थिक वर्षको साउनमा २ लाख ८३ हजार रुपैयाँ, भदौमा ३ लाख २२ हजार ५ सय, असोजमा ६ लाख ३ हजार ५ सय, कात्तिकमा ६ लाख १ हजार ५ सय, मंसिरमा ६ लाख ६७ हजार ५ सय, पुसमा ७ लाख २ हजार ५ सय, माघमा ७

लाख २३ हजार ५ सय, फागुनमा ७ लाख ४८ हजार ५ सय, चैतमा ७ लाख ५१ हजार, वैशाखमा ५ लाख ५४ हजार, जेठमा ३ लाख १० हजार ५ सय र असारमा ५ लाख ५ हजार ५ सय रुपैयाँ उठाइएको छ ।

ट्राफिक प्रहरीले सबैभन्दा बढी राजस्व चैत महिनामा र सबैभन्दा कम साउन महिनामा संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung