भारत सरकारले सन् २०२१ को अन्त्यसम्ममा आफ्ना सबै वयष्कलाई नागरिकलाई कोरोना खोप दिने घोषणा त ग¥यो । तर, ऊसँग यसका लागि पर्याप्त खोप होला ? अहिले यस्तै प्रश्न उठिरहेका छन् ।
भारतमै बनिरहेका दुईवटा खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनबारे भारत सरकारले हालै फरकफरक सूचना दिएको थियो । ती दुई खोप भारतीय खोप अभियानको मेरुदण्डका रूपमा छन् । अस्ट्राजेनेकाबाट अनुमति लिएर सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड उत्पादन गरिरहेको छ भने भारतमै विकसित कोभ्याक्सिन पनि उत्पादन भइरहेको छ ।
संसद्मा उठेको प्रश्नको उत्तरमा जुलाई २० तारिखमा स्वास्थ्य मन्त्रालयले प्रतिमहिना कोभिसिल्डको उत्पादन ११ करोड मात्राबाट बढाएर १२ करोड पु¥याउने योजना रहेको जनाएको थियो । तर सोही विषयमा अर्को प्रश्नको उत्तरमा प्रतिमहिना अनुमानित १३ करोड मात्रा उत्पादन क्षमता रहेको जानकारी गराइयो ।
हामीले सिरम इन्स्टिच्युटलाई त्यसबारे सोध्दा जुलाई महिनामा उत्पादन क्षमता ११ करोडदेखि १२ करोड मात्रासम्म रहेको र त्यसलाई बढाउने तत्काल कुनै योजना नरहेको जबाफ दिएको छ ।
त्यसै गरी कोभ्याक्सिनका लागि भारतीय सरकारले फरक आँकडा दिएको छ । उसका अनुसार प्रतिमहिना अनुमानित एक करोडदेखि १० करोड मात्रासम्मको उत्पादन हुन्छ । गत मे महिनामा सरकारले अगस्ट र डिसेम्बरको बीचमा ४० करोड कोभ्याक्सिनको मात्रा प्राप्त हुने अपेक्षा गरेको जनाएको थियो । तर उत्पादक भारत बायोटेकले जनवरी र जुलाईबीच उपलब्ध गराउने भनिएको आठ करोड मात्रा अझै दिन सकेको छैन ।
उसले जुलाई १६ तारिखसम्म ६० लाख मात्रा मात्र दिन सकेको छ । भारतले रुसमा विकसित स्पुत्निक भीलाई प्रयोगका लागि अनुमोदन गरेको छ । त्यहाँ उक्त खोपको ३० लाख मात्रा दिइसकिएको छ । जुलाई वा अगस्टबाट भारतमै उत्पादन गर्ने योजना थियो । तर अब सेप्टेम्बरमा मात्रै सुरु हुने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिकामा विकसित नोभाभ्याक्स अनि भारतमा कोभाभ्याक्स नामकरण गरिएको अर्को खोप पनि सिरमले उत्पादन गरिरहेको छ ।
तर भारतीय नियामक निकायबाट त्यो अझै अनुमोदन हुन बाँकी छ । उत्पादन गरी उक्त खोपको अहिले भण्डारण भइरहेको सिरम इन्स्टिच्युटले जनाएको छ ।
भारतले गत जुन महिनामा अमेरिकामा विकसित मोडेर्ना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म त्यहाँ त्यो खोप आइपुगेको छैन । जोनसन एन्ड जोनसन र फाइजरले आपत्कालीन प्रयोगका लागि भारतमा अनुमति मागिसकेका छैनन् ।
सन् २०११ को भारतीय जनगणनाअनुसार भारतमा १८ वर्ष र सोभन्दा माथिका ९० करोडदेखि ९५ करोड मानिस छन् । ती सबै खोप लगाउने समूहमा पर्छन् ।
खोप लगाउन योग्य जनसंख्यामध्ये अहिलेसम्म करिब १० प्रतिशतले मात्रै दुइटै मात्रा लगाउन पाएका छन् । त्यसको अर्थ सन् २०२१ को अन्त्यसम्ममा सबै वयष्कलाई खोप लगाइसक्ने हो भने प्रतिमहिना २९ करोड २० लाख मात्रा आवश्यक पर्नेछ । भारत सरकारको योजनालाई हेर्दा अहिले खोप उत्पादन क्षमता प्रतिमहिना १२ करोडदेखि १३ करोड मात्रा मात्रै छ । यद्यपि त्यसबारे सुनिश्चित हुन गाह्रो छ ।
आउँदो महिनामा उत्पादनको मात्रा बढ्न पनि सक्छ भने विदेशबाट पनि आउन सक्छ । भारतले आफ्ना नजिकका छिमेकी देश तथा कोभ्याक्स अभियानका लागि अप्रिलअघिसम्म खोप निर्यात गर्दै आएको थियो । तर अप्रिलदेखि उसले निर्यातमा रोक लगाएपछि गरिब देशहरूलाई खोप उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्न कोभ्याक्स अभियानलाई गाह्रो भइरहेको छ ।
खोपका निम्ति अरू स्रोतहरूलाई हेर्न थालेको कोभ्याक्सले भारतबाट पुनः खरिद गर्ने विषयमा कुराकानी भइरहेको बीबीसीसँग पुष्टि गरेको छ ।





























































































































































































