४ कार्तिक २०८३, मंगलवार

 

अन्ततः कोरोनासँग लडाइँ जितियो र नयाँ जीवन पाइयो

कोरोनासँगको लडाइँमा आज जीवनले युद्ध जितेजस्तो आभास भएको छ । झन्डै १८–२० दिनको लडाइँपछि डाक्टरले खतरामुक्त रहेको बताउनुभएको छ । यद्यपि अझै दुई साता औषधि सेवन र पथपरहेजमा बस्नै छ ।

विशेष गरी होटल व्यवसायीको नेताको हैसियतले गण्डकी प्रदेशका होटल व्यवसायी र कर्मचारी साथीहरूलाई कोभिडविरुद्ध भ्याक्सिनको माग गर्दै निकै ठाउँ भ्याउन प¥यो ।

जिल्ला प्रशासन धाइयो । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीज्यूहरूलाई स्वागतको कार्यक्रममा खटिइयो । विशेषतः पर्यटन र स्वास्थ्यमन्त्रीज्यूसँग होटल व्यवसायीहरूलाई खोपको व्यवस्था मिलाउन अनुरोध गरियो ।

पर्यटनमन्त्रीज्यूलाई होटल तथा पर्यटन व्यवसायीका समस्या अवगत गराउँदै समाधानका भावी योजनाबारे छलफल गरियो । यिनै कार्यक्रमका क्रममा कहाँबाट कसरी संक्रमित भइयो, पत्तै पाइएन ।

पोखरामै शरीर दुख्न र ज्वरो आउन थालेको थियो । त्यसैले कार्यक्रम छोट्याएर बागलुङतर्फ लागेँ । भोलिपल्ट कोरोना जाँच गराउँदा त रिपोर्ट पोजिटिभ देखियो । म पहिल्यै आइसोलेसनमा बसिसकेको थिएँ । तर पनि छोरीलाई समात्न भ्याएछ ।

परिवार, आफन्त र साथीभाइलाई जानकारी गराएर ३–४ दिन घरमै बसेँ । तीन दिनपछि खोकी बढ्दै गयो । मैले पत्नी शान्ती र मित्र मुकेशलाई अस्पताल जाने इच्छा सुनाएँ ।

यो थाहा पाएर आमा आत्तिँदै आउनुभयो । उहाँलाई ढाडस दिन मैले भनेँ, ‘रोग कम भइसकेको छ, तैपनि चेक गराउँदा राम्रो हुन्छ भनेर मात्र अस्पताल जान लागेको हो ।’

म खाना खाएर तयार भएँ । मुकेश स्कुटी लिएर आए । उनैले हतार–हतार मलाई अस्पताल पु¥याए । धौलागिरि अस्पतालले मेरो तुरुन्त सम्पूर्ण जाँच ग¥यो । रिपोर्टमा अलि जोखिम नै देखिएछ ।

काठमाडौं जाने सल्लाह भयो ।इष्टमित्र, आफन्त सबैलाई खबर भएछ । त्यसपछि त कहाँ कसरी उपचार गराउने भनेर उहाँहरू नै व्यवस्थापनमा जुटिहाल्नुभयो ।

बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ दाईहरुले हेलिकप्टर मगाउने, नेकपा माओवादी केन्द्र बागलुङका नेताहरु ललिता थापा, चन्द्र थापा शिखर र कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले पैसा जुटाउने, अस्पताल बुकिङ र स्वास्थ्य सामग्री जुटाउने काम गर्नु भयो ।

मैले कुनै झन्झट लिन परेन । ह्याम्स अस्पतालमा डाक्टरसहितको टिम तयार राखियो । प्रतिकूल मौसमका बावजुद मनाङ एयरको हेलिकप्टरले मलाई सकुशल काठमाडौं पु¥यायो ।

मेरा बालसखा हर्क थापा र अन्य साथीहरूले हामी अवतरित हुनुभन्दा पहिल्यै आईसीसीयूदेखि डाक्टरसम्मको तयारी मिलाइसकेकै थिए ।

ह्याम्स अस्पतालका डाक्टर राजु पंगनी,डा रक्षा पाण्डे,डा अर्जुन कार्कीको नेतृत्वको टिमले मेरो स्वास्थ्यको उपचार र मेरो अवस्थाको बारेमा हरपल निगरानी गरिरहनुभयो । आफन्त, इष्टमित्र सबैले चासो लिइरहनुभयो ।

उपचारमा कतैबाट कुनै कमी हुन दिइएन । मेरी भतिजी नर्स सुस्मिता मल्ललगाएत सबै स्वास्थ्यकर्मीहरूले पलपल मलाई निगरानी गर्दै सेवा दिइरहे ।

बुटवलका डाक्टर केआई सिंह केसी,वीर अस्पतालका डा जीवन थापा र ह्याम्स अस्पतालका डा संदिप भण्डारीले मेरो स्वास्थ्य उपचारमा सहजकिरण गरेका थिए ।

धौलागिरि अस्पतालका डाक्टर प्राग गजुरेल,रेडियो ग्राफर खड्क वीर थापा, स्वास्थ्यकर्मीको टोलीले छिट्टै निर्णय लिएर मलाई काठमाडौं पठाएको थियो । यस बेला नेपाल रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक दाई देवराज पराजुलीलगाएत सबैमा धन्यवाद दिनु चाहान्छु ।

त्यो छटपटाहटमा चिनजानका नेताज्यूहरूले पनि ‘हामी छौं’ भन्दै ढाडस दिनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल,नेकपा माओवादी केन्द्रका नेताहरु दिनानाथ शर्मा,देवेन्द्र पौडेल,बलावती शर्मा,राजीव घिमिरे,व्यवसायी श्याम श्रेष्ठ,व्यवसायी प्रकाश राजभण्डारी दाई,नेविसंघका नेताडिल्ली सुवेदी लगाएत धेरैले मेरो स्वास्थ्य उपचारमा चासो राखेर सहयोग गर्नु भएको थियो ।

मेरो स्वास्थ्य लाभको कामना गरी देशविदेशबाट सबैले माया र प्रेमको आत्मबल पठाउनु भयो,उहाँहरू सबै जना मेरा लागि पूजनीय हुनुहुन्छ ।अहिले म ससुरालीमा परिवारसँग छु ।

तपाईंहरू मेरा साथीरूपी, परिवाररूपी, इष्टमित्ररूपी र स्वास्थ्यकर्मीरूपी भगवान् हो । यो जीवन रहेसम्म यहाँहरू सबै जना मेरा लागि अविस्मरणीय हुनुहुन्छ ।भाइ किसानले मलाई हेलीमा राखेर पाइलटले आकाशमा उडाउँदै गर्दाको त्यो पीडा म भुल्न सक्दिनँ ।

बूढीआमा खिमा कुमारी चोखाल, अर्धांगिनी शान्ती, छोरीछोरा सम्पदा चोखाल,संरक्षण चोखाल र शुभेच्छुकहरूलाई हात हल्लाउँदै आकासिँदा मनमा एकखाले त्रास थियो, आशंका थियो । साँच्चै त्यो क्षणको मनस्थिति अभिव्यक्त गर्न सक्दिनँ ।

हस्पिटलको सबै सुविधा र सघन उपचारमा पनि कोरोनासँगको जीवन जोगाउने र सुम्पने लडाइँ निकै कठिन रह्यो । अन्ततः लडाइँ जितियो र जीवन पाइयो । यसमा तपाईंहरू सबैको प्रयत्न, प्रार्थना र खटाइको मुख्य भूमिका छ ।

अस्पतालको शय्यामा संघर्ष गरिरहँदा मनमा लाग्थ्यो– ८० को वारपारमा रहेका आमाबाबाको अन्तिम अवस्था आफ्नै कारणले अति पीडादायक हुने भयो । पत्नीसँगको १५ वर्षे जीवन झलझली आँखाअघि नाचिरहन्थ्यो जहाँ हामीले खुसी–खुसी साझा जीवन फुलायौं–फलायौं ।

अर्को मनले लालाबालालाई बाटो देखाउन र कर्तव्यबोध गराउनै नपाई बीचबाटोमै असरल्ल छाड्ने भइयो भन्ने पनि लाग्थ्यो । शुभेच्छुक, साथीभाइ, इष्टमित्रको साथ यति नै रहेछ भन्ने भयो ।

लोकमा कृति रहने काम केही गरिएन भन्ने भाव पनि मनमा उठ्दो रहेछ । आफूले आँटेका र अधुरा सामाजिक कामले पोल्दो रहेछ । अलि उच्च सामाजिक काम गर्न नसकेकोमा पीडा महसुस हुँदो रहेछ ।

धन्न, यी अनुभूतिहरू मेरा फगत सोचाइ मात्र साबित भए । परिवार–साथीभाइ सबैलाई फेरि देख्न पाएँ । सबै खुसीहरू फर्किएर आएका छन् । सबै योजना, भावना र कामनाहरू बौरिएका छन् । जीवन बौरिएको छ ।

कोरोनासँग जुध्दाका मेरा यी अनुभव जो कसैलाई काम लाग्न सक्छ :

१  आफूलाई शंका लाग्नासाथ आइसोलेसनमा बसौं र कोरोना परीक्षण गराऔं । यसले पोजिटिभ आए पनि तत्काल उपचारमा बाटो खुल्छ । आफ्नो अवस्थाबारे परिवार र साथीहरूलाई अपडेट गराइरहौं ।

घरमा बसे पनि फोक्सोको परीक्षण गरिराख्नुपर्छ । कुनै पनि समय अस्पताल जानुपर्छ भनेर तयारीमा रहौं । हामीले ढिलाइ गर्दा रोग कम हुने होइन, झन् च्याप्छ ।

२ अहिले कोभिडले शरीरको विभिन्न अंगहरुमा छिटो आक्रमण गर्ने रहेछ ।अझ छिटो फोक्सोमा आक्रमण गरी निमोनिमा फैलिदो रहेछ । यसलाई कोभिड निमोनिमा भन्दो रहेछ ।

यस्तो अवस्थालाई गम्भीर र जतिल प्रकारको कोभिड भन्छ । यस्तो अवस्था खोकी आइ रहने,ज्वरो नघटने र अक्सिजन लेवल घटने हुँदा तुरुन्त चिकित्सकसँग सल्लाह गरेर स्थानीय अस्पतालमा नभए चिकित्सको सल्लाहमा तत्काल पोखरा वा काठमाडौंमा उपचारको लागि जान ढिलो गर्नु हुँदैन ।

३  तत्काल पोखरा, काठमाडौं उपचार गर्न जानको लागि ठिक समयमा ठिक निर्णय लिनु पर्दो रहेछ । केही समय र केही दिन ढिलो गर्नु जीवनको लागि गम्भीर खतरा रहेछ ।ढिलो उपचार गर्दा हेलिकप्टारबाट लैजादा पनि कोभिडको विरामीलाई बचाउन नसकेको घटना हामीसँग ताजै छ ।

४ डाक्टर, स्वास्थ्यकर्मी वा विज्ञको नियमित सम्पर्कमा रहने, उनीहरूका सुझाव मान्ने । मनगढन्ते कुराको पछि नलाग्ने ।मलाई अक्सिजन दिइँदा र घोप्टो परेर सुत्दा निकै सुधार आयो ।

आफूलाई कसरी बस्दा, खाँदा सन्चो हुन्छ ध्यान दिने । आत्मबल अति उच्च राख्ने । पलपलमा हुने सानासाना सजिलो अनुभूतिलाई पनि रोग जितेको शक्तिका रूपमा लिने ।

( बागलुङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा होटल समिटका संचालक अर्जुन चोखालको कोरोना अनुभव  )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung