वैवाहिक स्वर्णजयन्तीको उपलक्ष्यमा एक दम्पतीले आफनो बुबा आमाको स्मृतिमा वृद्धाश्रममा अक्षयकोष स्थापना गरेका छन् ।
पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको स्याहारसुसार तथा उपचारमा सहयोग पुगोस भनि पोखरा महानगरपालिका– ९ निवासी दीपक बाटाजु र सिर्जना बाटाजुले वैवाहिक स्वर्णजयन्तीको उपलक्ष्यमा बुबाआमा गोकुललाल बाटाजु र मानकुमारी बाटाजुको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन ।
कोषको राशि ६ लाख ५१ हजार ५ रुपैयाँ रहेको छ । उक्त कोषको व्याजबाट प्राप्त रकमले आश्रममा रहेका ज्येष्ठ नागरिकको स्याहारसुसारमा सहयोग पुग्ने दीपक बाटाजु र सिर्जना बाटाजुले नयाँ विश्वलाई बताए ।
सोमबार वृद्धाश्रममा आयोजित कार्यक्रममा बाटाजु परिवारले ६ लाख ५१ हजार ५ रुपैयाँको चेक आश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा दीपक बाटाजुले कोरोनाले गर्दा नेवार समुदायले परम्परागत रुपमा पोखरा बजारमा निकाल्दै आएको गाईजात्रा नाच ताय मचा नाच यस वर्ष ननिकाले पनि आफूले सोहीअवसर पारेर आमाबुबाको नाममा अक्षयकोष स्थापना गरेको जानकारी दिए ।
पोखरा आश्रममा वृद्धवृद्धा एवं सेवकसेविकासहित ५५ जना आश्रित रहेका छन् । सहयोगी दाताको आर्थिक र भौतिक सहयोगले जेष्ठ नागरिकहरुको सेवामा सहयोग पुगेको पोखरा आश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए ।




















































































































































































































