गलकोट नगरपालिका–११ का फारकबहादुर श्रीस बागलुङ बजारमा ज्याला–मजदुरी गर्छन् । बागलुङ नगरपालिका–३ पुरानो सिनेमा रोडमा डेरा गरी बस्ने उनी बुधबार राति अचानक बिरामी परे ।
एक्लै रहेका उनी श्वासप्रश्वासमा समस्या भएपछि राति १२ बजेतिर अस्पताल जान भनी घरबाट निस्किए । सडकमा हिँड्दै गरेका उनलाई दुईवटा भुस्याहा कुकुरले झम्टिए । उनी त्यहीँ ढले ।
केही बेरमा अरू कुकुरसमेत आएर घेरेपछि उनी जसोतसो उठे । ढुंगा टिपेर कुकुरलाई तितरबितर पारे । अहिले श्रीस बागलुङको सफल पोलिक्लिनिकमा उपचार गराइरहेका छन् ।
उनको आर्थिक अवस्था कमजोर रहेको बुझेपछि अहिलेसम्म नि:शुल्क उपचार गरिदिएको पोलिक्लिनिक सञ्चालक दीपेन्द्र घिमेरेले बताए । बागलुङ बजारमा राति हिँडडुल गर्नेले भुस्याहा कुकुरबाट यस्तै सास्ती भोग्नुपरिरहेको छ ।
भुस्याहा कुकुर नियन्त्रणको पहल नहुँदा स्थानीयले वर्षौंदेखि समस्या झेल्दै आएका छन् । बजारका चोकचोकमा बस्ने कुकुरका हुलले पैदलयात्रीलाई टोक्न गरेका छन् ।

कुकुरले झम्टिँदा सवारीसाधन चालकसमेत दुर्घटनामा पर्ने गरेका छन् । दुई वर्षअघि कुकुरले मोटरसाइकललाई लखेट्दा भएको दुर्घटनामा परी एक शिक्षकको ज्यान गएको थियो ।
व्यवस्थापन गर्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले गत पुसमा चोकचोकबाट छाडा कुकुर उठाएर बन्ध्याकरण गरिदिएका थिए । स्थानीयको तीव्र गुनासोपछि कुकुरको बन्ध्याकरण गर्न दुई दिन शिविर नै चलाइएको थियो ।
तर अहिले समस्या जस्ताको जस्तै छ । बागलुङ बजारमा छाडा कुकुरका कारण धेरैले दु:ख खेप्न बाध्य भएको बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्यले बताए ।
कुकुरको बन्ध्याकरण गरी संख्या घटाउनेबाहेक विकल्प नरहेको उनको भनाइ छ । ‘कहीँकतै कुकुर मरिहाले खाडल खनेर गाड्ने बाहेकका अन्य कार्यक्रम वडासँग छैनन्,’ उनले भने ।
भुस्याहा कुकुरबाट बढीजसो मर्निङवाकमा निस्कनेहरू, अनि मोटरसाइकल चालकहरू पीडित छन् । यिनै कुकुर सवारी दुर्घटनाको कारकसमेत बनिरहेका छन् ।
भुस्याहा कुकुर नियन्त्रणका लागि प्रभावकारी विधि खोजी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
‘कुकुरका कारण मानिसहरु असुरक्षित भइरहेका छन्,’उनले भने, ‘सबै सामाजिक संघसस्थासँग सहकार्य गरेर नियन्त्रणको विधि अपनाइनेछ ।’ उनका अनुसार पशुअधिकारको विषय पनि रहेकाले कुकुरलाई मार्न उचित हुँदैन ।
तर हिँडडुल गर्नै अवरोध गर्ने गरी भुस्याहा कुकुरको संख्या बढ्न नदिन स्थानीयले माग गर्दै आएका छन् । ‘नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘केही दिनभित्रै ठोस निर्णय गरिनेछ ।’



















































































































































































































