इजरायलमा मदिरा बनाउने प्राचीन स्थल पहिचान भएको छ । उक्त मदिरा उत्पादनस्थल १५ सय वर्ष पुरानो रहेको पुरातत्त्वविद्हरूले बताएका छन्।
तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा फेला परेको बाइजनटाइन समयको उक्त विशाल वाइनरी त्यस बेला संसारकै सबभन्दा ठूलो कम्पनीमा गनिन्थ्यो।
गाजा जार भनिने माटाका भाँडामा वाइनलाई लामो समय भण्डारण गरेर राखेपछि मात्र बजारमा पठाउन तयार हुन्थ्यो। त्यस्ता जार त्यहाँ फेला परेका छन् ।
यसले वर्षमा बीस लाख लिटर वाइन उत्पादन गर्ने गरेको अनुमान छ। जटिल उत्पादन प्रक्रियापछि भूमध्यसागरीय क्षेत्र वरपर त्यो वाइन निर्यात गर्ने गरिन्थ्यो।
उत्खननमा काम गरेका मानिसहरूले त्यहाँको कम्पनीको आकार देखेर आफूहरू छक्क परेको बताए। त्यो क्षेत्रमा पर्यटकका लागि आकर्षक स्थान हुने गरी संरक्षणको काम गरिने योजना छ।
पुरातत्त्वविद्हरूका अनुसार त्यहाँ एक वर्ग किलोमिटर क्षेत्रमा पाँचवटा वाइन बनाउने मेसिन थिए। त्यहाँ भएका सजाउने सामग्री हेर्दा कम्पनीका मालिक निकै धनी थिए भन्ने देखिन्छ ।
वाइनलाई लामो समय राखेर बजारमा पठाउन तयार बनाउन र बोतलमा भर्ने स्थानहरू थिए। भण्डारणका लागि प्रयोग गरिने जार पोल्ने भट्टीहरू पनि थिए।
उत्खनन क्षेत्रमा सयौँ हजारौँ टुक्राटाक्री फेला परेका छन् । उक्त उत्पादनको नाम गाजा एसकेलन वाइन थियो। उक्त वाइन युरोप उत्तर अफ्रिका र एसियामा पनि निर्यात हुन्थ्यो। त्यस बेला गुणस्तरका लागि पनि त्यो वाइन प्रख्यात थियो।
उत्खननमा सहभागी एक निर्देशक जन सेलिगमनले भने, ‘यो त्यस बेला पोषणको प्रमुख स्रोत थियो किनभने त्यस बेला पानी त धेरैजसो प्रदूषित थियो।’














































































































































































































