८ जेष्ठ २०८१, मंगलवार

 

वेश्यावृत्तिलाई गैरकानुनी बनाउने स्पेनी प्रधानमन्त्रीको वाचा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले वेश्यावृत्तिलाई गैरकानुनी बनाउने वाचा गरेका छन्। सोसलिस्ट पार्टीको तीनदिने महाधिवेशनलाई सम्बोधन गर्दै आइतबार उनले वेश्यावृत्तिले महिलालाई दासी बनाउने गरेको बताए ।

स्पेनमा सन् १९९५ मा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको थियो। सन् २०१६ मा संयुक्त राष्ट्रसंघको आकलनअनुसार त्यहाँको यौन–उद्योग चार अर्ब २० करोड अमेरिकी डलर जतिको थियो।

सन् २००९ को एउटा सर्वेक्षणले स्पेनमा तीनमध्ये एक पुरुषले पैसा तिरेर यौन–सम्पर्क गरेको देखाएको थियो। तर सोही वर्ष प्रकाशित अर्को प्रतिवेदनले ३९ प्रतिशतसम्म पुरुषले वेश्यागमन गर्ने गरेको हुन सक्ने संकत गरेको थियो।

सन् २०११ को राष्ट्रसंघको अध्ययनले स्पेनलाई थाइल्यान्ड र पुर्टो रिकोपछि वेश्यावृत्तिको सबैभन्दा ठूलो केन्द्र भनेको थियो। स्पेनमा हाल देहव्यापारलाई नियमन गरिएको छैन।

त्यहाँ पैसाका लागि सार्वजनिक स्थानमा बाहेक अन्यत्र देहव्यापार गरे कानुनी कारबाही हुँदैन। तर यौनकर्मी र ग्राहकका बीचमा गरिने दलाली भने गैरकानुनी छ।

कानुनी बनाइएपछि स्पेनमा यौनकर्मीको संख्या बढ्न थालेको र अहिले त्यहाँ झन्डै तीन लाख यौनकर्मी महिला रहेको आकलन छ। सन् २०१९ मा सान्चेजको पार्टीले महिला मतदातालाई आकर्षित गर्न चुनावी घोषणापत्रमा वेश्यावृत्तिलाई गैरकानुनी बनाउने लेखेको थियो।

उक्त घोषणापत्रमा देहव्यापारलाई ‘गरिबीको नारीकरणको क्रूर पक्षमध्ये एक र महिलाविरुद्ध हिंसाको सबैभन्दा विकृत रूपमध्ये एक’ भनिएको छ। यद्यपि निर्वाचित भएको दुई वर्षसम्म उनको पार्टीले यस विषयमा कुनै विधेयक निर्माण गरेको छैन।

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्ने पक्षधरहरू यसले महिला यौनकर्मीलाई ठूलो सहयोग गरेको र सुरक्षित बनाएको बताउँछन्। तर हालैका वर्षहरूमा महिलालाई यौनकर्मका लागि बाध्य पारिने विवरणहरू आएका छन्।

सन् २०१७ मा स्पेनी प्रहरीले छापाका क्रममा भेटिएका १३ हजार महिलामध्ये ८० प्रतिशतलाई वेश्यावृत्तिका लागि तेस्रो पक्षले बाध्य पारेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्