गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने बताएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रियामा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको जनाए ।
उनले भने, ‘संघीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको हो । ’
प्राप्त बजेट बढीभन्दा बढी कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बरालले अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब रु पाँच अर्ब कम बजेट विनियोजन भएकाले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।
जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताए ।
अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले बजेट कार्यान्वयनको अवस्था बुझी कठिनायी भएका अवस्थामा सहजीकरण गर्ने उद्देश्यले जिल्लामा छलफल गरिएको जानकारी दिए ।













































































































































































































