गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धथानमा बालभैरव मन्दिर स्थापना गरिएको छ । घुम्टे सिद्ध बालभैरव मन्दिरको समाजसेवी भूपेन्द्रबहादुर थापाले बुधबार उद्घाटन गरे ।
त्यस क्रममा उनले नेपाल र नेपालीको सुन्दरता भनेकै धर्ममय जीवनशैली र संस्कृतिमय सामाजिक व्यवस्था भएको बताए ।‘सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहाँ धर्म छ त्यहाँ सहिष्णुता हुन्छ ।
जहाँ धर्म छैन, त्यहाँ असहिष्णुता हुन्छ, अराजकता र द्वन्द्व हुन्छ,’ उनले भने, ‘धर्मले मानिसलाई सभ्य र अनुशासित हुन प्रेरित गर्छ ।’कार्यक्रममा गलकोट–७ का वडा सदस्य लोक बहादुर थापा, सिद्धेश्वर शिवालय सेवा समिति मल्मका अध्यक्ष ज्ञानबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
१० लाख ८३ हजार रुपैयाँको लागतमा निर्मित उक्त मन्दिरका लागि देश विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका थिए । मन्दिरमा बुधबारै विधिवत् पूजाअर्चनासमेत गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिए ।
घुम्टे पहाडको फेदमा अवस्थित मल्म सिद्धथानमा स्थानीयले मनस्कामना पूरा हुने धार्मिक विश्वाससाथ पूजाअर्चना गर्दै आएका छन् । विशेष गरी फाँटमा अन्नबाली लगाउँदा र पाकेर भित्र्याउने बेला उक्त स्थानमा गाउँलेले सामूहिक पूजा गर्दै आएका छन् ।
मन्दिरसँगै नवनिर्मित सत्तलको समेत उद्घाटन गरिएको छ । सत्तलको समाजसेवी लालबहादुर थापाले उद्घाटन गरेका हुन् । उक्त मन्दिर मल्म पाण्डवखानी रणसिंहकिटेनी सडक खण्डको आडैमा अवस्थित छ । उद्घाटन कार्यक्रममा घुम्टे प्रगति कृषक समूह मल्मले भजनकीर्तनसहित परिक्रमा गरेको थियो ।













































































































































































































