४ श्रावण २०८३, सोमबार

 

बागलुङमा प्रथम शालग्राम राष्ट्रिय भजन महोत्सव हुने

बागलुङमा यही मंसिर २४ गतेबाट प्रथम शालग्राम राष्ट्रिय भजन महोत्सव हुने भएको छ । बागलुङ नगरपालिका–४ कुडुँलेस्थित श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयमा मङ्सिर २४ देखि २८ गतेसम्म प्रथम राष्ट्रिय शालग्राम भजन महोत्सव आयोजना हुन लागेको होे ।

महोत्सव सफल पार्न बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा २ सय ५१ सदस्यीय मुल समिति गठन गरि तयारी अगाढी बढाइएको छ ।पहाड खोपेर बनाईएको विश्वकै पृथक शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकलाई आर्कषित गर्नका लागि महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष राजु खड्काले बताए ।

यो महोत्सव अन्य महोत्सव भन्दा पृथक बनाउने तयारी गरेको बताए । महोत्सवमा देशभरबाट करिव ५० भजन समूह सहभागी गराउने तयारी गरिएको छ । लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि ‘शालग्राम भजन महोत्सव’ आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ ।

धर्म संस्कृति र संस्कारको संरक्षण गर्न र पुरानो संस्कृतिको रुपमा रहेको लोकभजन जोगाउन महोत्सव आयोजना गरिएको श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

भूमिगत रुपमा बनाइएको सङ्ग्रहालयमा सवा एक लाख शालग्राम एकसाथ दर्शन गर्न सकिने भएकोले धार्मिक पर्यटक भित्र्याउने र शालग्रामको विषयमा जानकारी दिनेगरी भजन महोत्सव आयोजना गरिएको प्रपन्नाचार्यले बताए ।

५ दीन सम्म संचालन हुने महोत्सव सम्पन्न गर्न एक दर्जज उप समिति समेत गठन गरिएको छ । ,महोत्सव सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
बागलुङमै यस अघि प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा रहको ऐतिहासिक रामकोट मन्दिरमा राष्ट्रिय भजन प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका सह संयोजक सङ्गम क्षेत्रीले बताए । महोत्सवमा हास्य कलाकार तथा लोक भजनका प्रख्यात कलाकार समेतलाई उपस्थित गराउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung