४ श्रावण २०८३, सोमबार

 

गलकोटमा धार्मिक महोत्सवबाट साढे ३ करोड रकम संकलन

बागलुङको गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोति महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ ।

पुरानो धार्मिक स्थलको रुपमा परिचित मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मंसिर ६ गते देखि योजना गरिएको धार्मिक महोत्सव साढे ३ करोड रकम शंकलन गर्दे सम्पन्न भएको हो ।

पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण धार्मिक महोत्सव अवधिभर नगद रु ३ करोड ४८ लाख आर्थिक सहयोग संकलन गरिएको महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।

१५ दिनसम्म सञ्चालित उक्त धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथा प्रवचन गरेका थिए ।

बाजागाजा, पञ्च कलश, शोभायात्रा सहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा प्रखर धर्म गुरुहरुको आतिथ्यतासँगै सन्तहरुको कुम्भ मेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजन किर्तन, साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघ संस्थालाई अभिनन्दन गरिएको थियो ।

मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकम मार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार सँगै विविध सेवा सहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धा आश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्र समेतको सेवा गर्दै भगवानको पूर्ण आराधना गर्ने स्थलको रुपमा विकास गरिने उद्येश्य रहेको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए ।

धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण टेवा पुगेको अध्यक्ष सापकोटाको भनाई छ ।

यसले गलकोट नगरको धार्मिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने धार्मिक महोत्सव प्रचार प्रसार समितिका संयोजक मित्रलाल खरेलले बताए । वि.सं २०२५ माघ ७ मा प्राण प्रतिष्ठा सहित शुभारम्भ गरिएको सो मन्दिरमा वैदिक पाञ्चरात्र विधी अनुसार पूजा अर्चना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung