६ जेष्ठ २०८१, आईतवार

 

बागलुङमा भइरहेको आईटीएफको प्याटर्न खेलमा आर्मीको वर्चस्व

बागलुङ — बागलुङमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा त्रिभूवन आर्मी क्लबले विजयको अग्रता लिएको छ ।

अहिलेसम्म भएका पुरुष तथा महिला प्याटर्नका ३६ बाउटमा पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका धनसिंह परियार र भीमबहादुर तामाङले स्वर्ण पदक जितेका छन् । महिला तर्फपनि आर्मीकै सुस्मिता श्रेष्ठले स्वर्ण जितेकी हुन् ।

धनसिंहले लुम्बिनी प्रदेशका सफल परियारलाई पराजित गरे । ब्लयाक बेल्ट तर्फका तामाङले गण्डकी प्रदेशका प्रविण बुढालाई हराएका थिए । ब्लु बेल्टकी श्रेष्ठको प्रस्तुति अगाडि गण्डकीकै मोनिका कुँवर पनि टिक्न सकिनन् ।

ब्ल्याक बेल्टका पुरुषतर्फकै अर्को खेलमा गण्डकीका भीमबहादुर गाहाले स्वर्ण पदक जितेका छन् । गाहाले लुम्बिनीका सन्देश सुनारलाई पराजित गरेको आइटिएफ मिडिया कोअर्डिनेटर पुकार केसीले जानकारी दिए ।

सेनाले खेलाडीलाई विगत सात महिनादेखि खेलका अभ्यासमा सहभागि गराएको थियो । आइतबार प्याटर्न तर्फका सबै खेल सकेपछि स्पाइरिङ तर्फका खेल सुरु हुने रेफ्रि चिफ मेन प्रवीण कार्कीले बताए ।

बागलुङ नगरपालिका वडा नंं १ बाँङ्गेचउरस्थित खेल मैदानमा भएको कार्यक्रममा आईटीएफलका केन्द्रीय पदाधिकारीसहित झन्डै ४ सय पाहुना सहभागी छन् । नवौं संस्करणसम्म आइपुग्दा पहिलो पटक बागलुङले राष्ट्रिय खेल खेलाउने मौका पाएको हो ।

प्रतिक्रिया दिनुहोस्