६ जेष्ठ २०८१, आईतवार

 

आइटिएफमा बागमती र गण्डकीले दुई–दुई स्वर्ण थपे

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा बागमती र गण्डकी प्रदेशले दुई–दुई स्वर्ण थपेका छन् ।महिला र पुरुष एकल स्पाइरिङमा सोमबार भएका विभिन्न तौल समूहका खेलमा उनीहरु विजेता बनेका हुन् । ५६–६० किलो तौल समूहको खेलमा बागमती प्रदेशका अनिल तामाङले स्वर्ण पदक हात पारे ।

बागमतीका तामाङसँग पराजित गण्डकीका प्रविण बुढाले रजत पदक जिते । सशत्र प्रहरी बलका सुमन राना र लुम्बिनी प्रदेशका हेमराज डाँगीले कास्यमा चित्त बुझाए ।

५१–५५ किलो तौल समूहको पुरुष स्पाइरिङमा बागमतीका रिक्सन वाइबाले स्वर्ण पदक हाँसिल गरे भने आर्मीका प्रेमकुमार मगरले रजत जिते । लुम्बिनी प्रदेशका अर्जुन नेपाली र सशत्र प्रहरी बलका सुनिल महतोले कास्य पदक पाए ।

४६–५० किलो तौल समूहमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण पदक जिते । कर्णालीका धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढा मगरले काँस्य पदकमा चित्त बुझाए ।

महिला स्पाइरिङमा ४६–५० किलो तौल समूहबाट गण्डकी प्रदेशकी सुस्मिता थापा स्वर्ण जित्न सफल भइन् । उनीसँग पराजित १ नं. प्रदेशकी इन्दिरा थापाले रजत पदक पाइन् । लुम्बिनीकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक जितिन् ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार अहिलेसम्म भएका प्याटर्न र स्पाइरिङमा सबैभन्दा बढी आठ स्वर्णसहित नेपाल आर्मी शीर्षस्थानमा छ । बागमती प्रदेश पाँच स्वर्णसहित दोस्रो र गण्डकी प्रदेश तीन स्वर्ण लिएर तेस्रो स्थानमा छ ।

आइटिएफ नेपालका महासचिव अञ्जु रावतले प्याटर्नतर्फका बाँकी खेल मङ्गलबार बिहानैदेखि सुरु हुने जानकारी दिइन् । बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।

तस्वीर ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्