२२ बैशाख २०८१, शनिबार

 

प्रशोधन केन्द्रलाई सुधार गरी बागलुङ बजारका उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराइने

बागलुङ बजारका उपभोक्तालाई शुद्ध र स्वच्छ पानी वितरण गर्न बागलुङ नगरपालिकाले पहल थालेको छ । बिहिबार नगरपालिका र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीबिच भएको छलफलमा उपभोक्तालाई शुद्ध र स्वच्छ पानी वितरण गर्न सहकार्य गरेर जाने सहमति भएको छ ।

उपभोक्ताले पिउने पानी फोहर भएको गुनासो आइरहेको भन्दै बुधबार नगर उपप्रमख राजु खड्का सहित नगरपालिकाको टोलीले बागलुङ नगरपालिका ३ सुलडाँडामा रहेको पानी प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरेको थियो । बिहिबार भएको छलफलमा शुद्ध र स्वच्छ पानी वितरण गर्न सरोकारवालाको सहभागितामा अनुगमन समिति गठन गरी अनुगमन टोलिले परिणाम आउने गरी काम गर्ने निर्णय गरेको छ ।

अनुगमन टोलिमा बागलुङ नगरपालिका वडा नम्वर १ देखि ४ सम्मका वडा अध्यक्ष, बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,नगरपालिकाको स्वास्थ्य शाखाको प्रतिनिधि, उपभोक्ता तथा संचारकर्मी प्रतिनिधि रहेको सो टोलीले प्रत्यक महिना खानेपानीको मुहान अनुगमन गर्ने, सरोकारवाला निकायबिच समन्वय गर्ने, खानेपानीको गुणस्तर सुधार गर्न कार्ययोजना बनाउने,अनुगमन प्रतिवेदन तयार गरि सरोकारवाला निकायमा प्रस्तुत गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटाले बताउनु भयो ।

बैठकले खानेपानी सुरक्षा कार्यदललाई चयालमान बनाउने र प्रत्यक महिना खानेपानीको ल्याव परीक्षण गरी सार्वजनिक गर्ने, पानी प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरी सरसफाई र आवश्यक तारबार गर्ने खानेपानी शुद्धताको लागि आवश्यक उपकरणमा व्यवस्थापन गर्न सम्वन्धित निकायमा सहजिकरण गर्ने निर्णय भएको छ ।

त्यस्तै बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको भएपनि काम सम्पन्न नगरेकोले छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनु भयो । बैठकमा उपप्रमुख खड्काले अबदेखि खानेपानीमा कुनै किसिमको हेलचेक्र्याइँ हुन नदिन र सबै जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो ।

सो अवसरमा बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि प्रसाद श्रेष्ठले खानेपानीमा भएको समस्या समाधान गर्न सबैको साथ र सहयोग आवश्यक रहेकोले प्राविधिक विषयमा सरकारी निकायले सहजीकरणको आवश्यकता भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्