४ जेष्ठ २०८१, शुक्रबार

 

तीन हजार मिटर दौडमा रवि र ज्ञानदेवीलाई उपाधि

बागलुङ — बागलुङ नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिताको ३ हजार मिटर दौडमा छात्रतर्फको उपाधि सिगाना माध्यमिक विद्यालय, तित्याङका रवि सुनारले जितेका छन् । सोमबार बिहान बाङगेचौरमा भएको दौडमा यहाँको चिल्ड्रेन लाइफ माध्यमिक विद्यालयका गणेश केसी द्वितीय र त्रिभुवन माध्यमिक विद्यालयका रमित परियार तृतीय भए ।

छात्रातर्फको ३ हजार मिटर दौडको उपाधि विद्यामन्दिर माध्यमिक विद्यालयकी ज्ञानदेवी रोकाले जितेकी छिन् । उक्त प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयकी सम्झना शर्मा द्वितीय र सिद्धार्थ शिक्षा सदनकी एन्जिला लिम्बू तृतीय भइन् ।

प्रतियोगितामा ३० विद्यालयले भाग लिएका छन् ।त्यसअघि भएको १ हजार ५ सय मिटर दौड प्रतियोगिता पनि छात्रातर्फ विद्या मन्दिर माध्यमिक विद्यालयकी ज्ञानदेवी रोका नै प्रथम भएकी थिइन् । त्रिभुवन माध्यमिक विद्यालयकै सम्झना पौडेल द्वितीय र जनताधन माध्यमिक विद्यालयकी अनुषा पौडेल तृतीय भएकी थिइन् ।

छात्रतर्फको १ हजार ५ सय मीटर दौडमा आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयका अनुप जिसी प्रथम, सिगाना माध्यमिक विद्यालय, तित्याङका रवि विक द्वितीय र गणेश माध्यमिक विद्यालयका हरि रोका तृतीय भएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्