काठमाडौं । प्रेस सेन्टर नेपालले स्थापना गरेको शक्तितारा स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान गरिएको छ । शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमको प्रमुख अथिति प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले दोसल्ला, कदरपत्र र नगद ३० हजारसहित पौडेलकी श्रीमती प्रतिभा पौडेललाई सम्मानित गरिएको हो ।
क्रान्तिकारी पत्रकार संघ कास्कीका संस्थापक उपाध्यक्ष पौडेल जनयुद्ध कालदेखि नै जनपक्षीय पत्रकारिता क्रियाशील थिए । नेपाल पत्रकार महासंघ कास्की शाखाको २ कार्यकाल सचिव र अध्यक्ष समेत भएका पौडेलले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी वेपत्ता योद्धा पत्रकारिता पुरस्कारबाट दीलकुमारी शाहीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टरले दश जनालाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा कोशी प्रदेशका अर्जुन आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगिता डिमडोङ, गण्डकी प्रदेशबाट सविन प्रजा, लुम्बनी प्रदेशबाट कमल रायमाझी, कर्णाली प्रदेशबाट पंखबहादुर शाही, सुदूरपश्चिम प्रदेशबाट तेजाराज भट्ट, उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठान प्रदेशबाट नरेश ज्ञवाली, एशोसिएट प्रदेशबाट विजय आवाज सुवेदी रहेका छन् ।
त्यस्तै सो संस्थाले उत्कृष्ट तीन जिल्ला शाखा सुनसरी, मकवानपुर र बाँकेलाई पनि सम्मान गरेको छ भने प्रेस सेन्टरमा आवद्ध भएर पनि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई पनि सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा, नुवाकोटका विदुर नगरपालिकाकी उपमेयर प्रभा वोगटी, रुकुमको सानेभरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोक्का, प्युठान गौमुखी गाउँपालिकाका अध्यक्ष महावीर राना रहेका छन् ।



















































































































































































































