२० बैशाख २०८१, बिहीबार

 

विद्यामन्दिर पुस्तकालयद्वारा बागलुङ सुधार केन्द्रलाई पुस्तक हस्तान्तरण

बागलुङ । विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बागलुङ सुधार केन्द्रलाई पुस्तक हस्तान्तरण गरेको छ । बिहीबार सुधार केन्द्रमा रहेका युवाहरुलाई पुस्तक अध्ययन गरेर सुधारिने मौका मिलोस् भन्ने अभिप्रायले विभिन्न शिर्षकका जिवन उपयोगि पुस्तक हस्तान्तरण गरिएको हो ।

सो अवसरमा बोल्दै पुस्तकालयका कार्यवाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले पुस्तकले युवाहरुको जिवन परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । राजभण्डारीले सुधार गृहबाट बाहिर निस्केपछि सजिलै समाजमा पुर्नस्थापित गर्न पनि पुस्तकबाट आर्जन गरिएको ज्ञानले सहयोग पुग्ने भन्दै सानो कुराले पनि ठूलो नतिजा ल्याउने बताउनु भयो ।

कार्यक्रममा बागलुङ सुधार केन्द्रका उपाध्यक्ष एन्जिल शाक्यले युवाहरुको चिन्तन गर्ने र सामाजिक रुपान्तरणमा पुस्तकालयले प्रदान गरेको सकरात्मक सोचका पुस्तकहरुले ठूलो सहयोग पुर्याएको बताउनु भयो । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता र उपाध्यक्ष रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।

पठन संस्कृतिको विकास गर्न र पुस्तक र पुस्तकालयको महत्व उजागर गर्न पाँच दिवसिय कार्यक्रमसहित १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर युवाहरुलाई पुस्तक प्रदान गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले बताउनु भयो ।

दुर्व्यसनमा फसेका युवाहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य सहित स्थापना भएको बागलुङ सुधार केन्द्रबाट पहिलो चरणमा २० जना युवा सफल रुपमा समुदायमा पुर्नस्थापित भएको र अहिले सुधार केन्द्रमा ५७ जना युवाहरु रहेको केन्द्रका संचालक सुदिप गौतमले बताउनु भयो ।

लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने उद्देश्यले पाँच जना युवाहरुको सक्रियातमा बागलुङ नगरपालिका ३ मुलपानीमा सुधार केन्द स्थापना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्