१९ बैशाख २०८१, बुधबार

 

भूकम्पका घाइतेका लागि बागलुङ उच्च अदालत बार एशोसिएशनद्वारा रक्तदान

बागलुङ । जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बागलुङमा रगत सङ्कलन गरिएको छ ।

बागलुङ उच्च अदालत बार एशोसिएशनको आयोजना र नेपाल रेडक्रस सोसाईटी बागलुङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा बागलुङका १० जना कानुन व्यवसायीहरुले रक्तदान गरेका थिए । घाइते बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रममा गरिएको बागलुङ उच्च अदालत बार एशोसिएशनका अध्यक्ष रमेश बहादुर खड्काले बताउनु भयो ।

मंगलबारबाट रगत संकलन अभियान सुरु भएको र केहि कानुन व्यवसायी जिल्ला वाहिर रहेकोले केही दिनभित्र रगत संकलन गरेर पठाउने खड्काले बताउनु भयो । भूकम्पका घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाई रक्तदानमा सहभागी हुन गरिएको आग्रहबमोजिम रक्तदान गरिएको छ बार एशोसिएशनले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ मार्फत उक्त रगत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाईएको रक्तसञ्चार केन्द्रका प्राविधिक गुरु प्रसाद शर्माले बताउनु भयो ।

जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन बागलुङका सामाजिक संघ सस्था जुटेका छन्। बागलुङका स्थानीय तह व्यवसायीक तथा सामाजिक संघ संस्थाले सोमबार ६० लाख बराबरको राहत जाजरकोट र पश्चिम रुकुमकामा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्