५ जेष्ठ २०८१, शनिबार

 

ठमेल पर्यटन विकास परिषद र केके टेस्ट अफ सिक्किमको पहलमा सिक्किमको बाढी पीडितका लागि उठाइएको सहयोग हस्तान्तरण

काठमाडौं । ठमेल पर्यटन विकास परिषद र केके टेस्ट अफ सिक्किम रेष्टुरेन्ट, ठमेलले सिक्किमको बाढी पीडितका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ।

ठमेल पर्यटन विकास परिषदका महासचिव राजिव पाण्डे र केके टेस्ट अफ सिक्किम रेष्टुरेन्टका प्रोपराइटर किन्चु भुटिया श्रेष्ठले मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सहयोग रकम सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ९गोले० को सचिव एसडि ढकाल र विधायक आदित्य गोलेलाई हस्तान्तरण गर्नु भएको हो । आर्थिक सहयोगसँगै खाद्यान्न र लत्ता कपडा समेत उपलब्ध गराइएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा ठमेल पर्यटन विकास परिषदका सदस्य प्रकाश थपलिया, श्रीमती गंगा थपलिया पाण्डे र रेड क्यासमिरका सिइओ अनुप श्रेष्ठको उपस्थिति रहेको थियो ।

बाढी पीडितबाट प्रभावित जनताको लागि नेपालदेखि सहयोग आएकोमा विधायक आदित्य गोलेले नेपाली टोलीलाई धन्यवाद दिनु भएको थियो । उक्त रकम सिक्किमको बाढी पीडित जनताको लागि र पूर्णनिर्माणमा खर्च हुने सिक्किम सरकारले जनाएको छ ।

केके टेस्ट अफ सिक्किम रेष्टुरेन्टका संचालक किन्चु भुटिया श्रेष्ठले फेसबुक अभियानबाट सिक्किमको बाढी पीडितका लागि सहयोग संकलन सुरु गरेको थिए । उनले सुरुमा काठमाडौंको ठमेल बजारबाट सहयोग अभियान सुरु गरेको हो । श्रेष्ठको आर्थिक सहयोग अभियानमा उनकी श्रीमान अनुप श्रेष्ठले साथ दिएको थियो ।

सिक्किम जन्म घर भइ हाल काठमाडौंको ठमेलमा व्यवसाय गर्दै आएकी श्रेष्ठले सिक्किममा आएको भयावह बाढी र त्यसले उत्पन्न गरेको मानविय समस्यालाई सानो भए पनि सहयोग पुगोस भनि यो सहयोग अभियान सुरु गरेको श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

उक्त सहयोग अभियान ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा संकलन गरिएको थियो । काठमाडौंका उद्योगी व्यवसायीहरुले बाढी पीडितलाई सहयोग होस भनि आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

हाम्रो छिमेकी देश भारतको सिक्किमका जनतालाई बाढीले ठूलो घनजनको क्षेति भयो यस पीडाको बेला मानविय हिसाबले सहयोग उपलब्ध गराएको ठमेल पर्यटन विकास परिषदका महासचिव राजिव पाण्डेले बताउनु भयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सिक्किमको बाढी प्रभावित जनताको लागि हामीले सहयोग उपलब्ध गराएका छौं र आवश्यक भएमा भविष्यमा पनि सहयोग गर्ने रेड क्यासमिरका सिइओ अनुप श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठले यस सहयोग अभियानको बारेमा नेपाल स्थित भारतीय दुतावासमा समेत जानकारी गराइएको थियो ।

गत असोज १७ गते भारतको उत्तरपूर्वी राज्य सिक्किममा अचानक आएको बाढीका कारण ठूलो धनजनको क्षेति भएको थियो। भीषण वर्षाले बाइस हजारभन्दा धेरै मानिसहरू प्रत्यक्ष प्रभावित भएका थिए।

सिक्किमको लोनार्क ग्लेसियर ताल बिस्फोट भएर टिस्टा नदीमा बाढी आउँदा ८८ जना बेपत्ता भएका थिए। असोज १७ गते बिहानको राति १ बजे नदीमा ताल फुटेर बाढी आएको थियो।

बाढीले अर्बौंको भौतिक क्षति पुर्याएको छ । लोनार्क ग्लेसियर ताल बिस्फोट भएपछि चुंगथांग ड्याममा ठूलो मात्रामा पानी निकास हुँदै टिस्टा नदीमा बाढी आएको थियो।

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमानजिक पर्छ। ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ।

चुंगथांग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिटमाथि रहेको सेनाले बताएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको थियो।

प्रतिक्रिया दिनुहोस्