१९ बैशाख २०८१, बुधबार

 

चारपटक कारबाहीमा परेका अटो रिक्सा चालक थापा अझै पक्राउ परेनन्

बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटनापछि फरार चालक रामबहादुर थापा अझै पक्राउ पर्न सकेका छैनन् । उनलाई यस अघि विभिन्न कसु्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले कारबाही गरिसकेका व्यक्ति हुन्।

गत सोमबार दिउँसो बागलुङ बजारदेखि दोबिल्लातर्फ जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा दुर्घटना भएको थियो । सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई अटो रिक्सा दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका थिए । दुर्घटनापछि चालक थापा फरार भएका थिए ।

फरार भएको २४ घण्टा बित्दा पनि प्रहरीले चालक थापालाई अझै पक्राउ गर्न सकेका छैनन् । बागलुङ नगरपालिका-६ तीनतले घर भएका वर्ष २४ का चालक थापा पटक पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका चालक हुन् । अटो रिक्साका धनी भने बागलुङ नगरपालिका-१ रामरेखा निवासी नानीमाया पुन छन्त्याल हुन् ।

अटो रिक्सा धनी छन्त्यालले घाइतेको उपचार खर्च व्यहोर्ने बारेमा घाइतेको परिवारसँग जिल्ला प्रहरी कार्यालय बागलुङमा मंगलबार भएको छलफलमा सहमति भएको र अटो चालक थापाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी दीपक बाबु केसीले नयाँ विश्वलाई बताए ।

अटो रिक्सा दुर्घटना हुँदा घाइतेमध्ये बागलुङ नगरपालिका-३ तातोपानी बस्ने वर्ष ४५ की रेवती किसान र कास्की जिल्लाको मादी गाउँपालिका १२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियारको धौलागिरि अस्पतालमा उपचार भइरहको छ ।

बागलुङ नगरपालिका-३ का वर्ष २४ की सम्झना किसान र उनकी ५ वर्षीया छोरी साचि किसान सामान्य उपचारपछि हिजै डिस्चार्ज भएका थिए । बागलुङ नगरपालिका-३ रातामाटाका ६८ वर्षीय घाइते रोहिणिदत्त शर्माको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्