३ असार २०८१, आईतवार

 

बागलुङमा १३ जेठदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने

बागलुङ । माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जेठ १३ देखि १६ गतेसम्म ‘आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

एसईई दिएर बसेका विद्यार्थीमा फुटबल खेलको माध्यमबाट रचनात्मक सोचको विकास गराउने उद्देश्यले आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा आदर्श कप फुटबल प्रतियोगिता संचालन हुने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

१५ टोली सहभागी हुने प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोल रक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने अध्यक्ष केसीले बताए ।

प्रतियोगितामा सेमी फाइनलमा पुग्ने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

आयोजक आदर्श विद्यामन्दिर माविका दुई टोलीसहित गुराँस विद्या सदन, गरिमा आवासिय मावि, धवलागिरि बोर्डिङ स्कुल, न्यु ओयसिस एकेडेमी, न्यु एभरेष्ट एकेडेमी, कुँडुले मावि, सनराइज आवासिय मावि, विद्यामन्दिर मावि, अमर आदर्श मावि, सिद्वार्थ शिक्षा सदन, पर्वत मावि र फ्युचर ब्राइटर आवासिय माविले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न ४ लाख लागत अनुमान गरेको आयोजकले क्लबका शुभचिन्तकबाट स्वतस्फुर्त रुपमा रकम संकलन भईरहेको केसीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल जेठ १३ गते दिउँसो आयोजक आदर्श विद्यामन्दिर ‘निलो’ र गुराँस विद्या सदनबीच हुने भएको छ ।

बिहीबार आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार भेटघाटमा बोल्दै नेपाल नीजि तथा आवासीय विद्यालय संगठन ९एनप्याब्सन० बागलुङका अध्यक्ष नेत्रलाल न्यौपानेले बालबालिकालाई पढाईसँगै खेलकुद गतिविधिमा अभ्यस्त बनाउनुपर्नेमा जोड दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्