३ श्रावण २०८३, आईतवार

 

जिल्ला प्रशासन कार्यालय बागलुङले हरेक २ महिनामा पत्रकारसँग अन्तरक्रिया गर्ने

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले अब हरेक दुई महिनामा पत्रकारसँग अन्तरक्रिया गर्ने बताउनु भएको छ ।

बिहीबार बागलुङमा क्रियाशिल पत्रकार तथा जिल्लाका सरकारी कार्यालयहरुका सूचना अधिकारीसँग भएको संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रममा सूचना पाउने नागरिकको अधिकारको निम्ति पत्रकारीताको माध्यमबाट थप सूचना प्रवाह गर्न हरेक दुई महिनामा पत्रकारसँग अन्तरक्रिया गर्ने बताउनु भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले सूचनाको हक मौलिक हक भएकोले यसको कार्यान्वयन गर्न जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने बताउनु भयो। प्रविधिको प्रयोग गरि जति सक्दो छिटो सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकारहरुले सरकारी निकायका सूचनाहरु सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । सूचना पत्रकारलाई मात्र नभई हरेक नागरिकलाई दिन कञ्जुस्याई गर्न नहुने बताए थिए । हरेक सरकारी निकाय एवं स्थानीय निकायले सरकारी गतिविधिका सूचना प्रवाह नियमित गर्नुपर्ने भन्दै कार्यालयले सञ्चारमैत्री वातावरण तय गर्नुपर्ने पत्रकारहरुले माग गरेका थिए ।

सूचना समयमै नदिदा कार्यालयका राम्रा कामहरु समेत जनता समक्ष नपुग्ने बताए । पत्रकारहरुले स्थानीय मिडियाहरुको संरक्षण, प्रवद्र्धनमा समेत ध्यान दिन आग्रह गरे ।

उनीहरुले जिल्लाका सूचना तथा विज्ञापनहरु बाहिर गइरहेकाले त्यसको जिल्लामै व्यवस्थापन गर्न सके स्थानीय मिडियाहरु सञ्चालन गर्न सहज हुनेमा जोड दिए ।

पत्रकारहरुले गाउँ गाउँमा चल्ने गाडिको भाडा दर कायम नभएको, अस्पतालबाट प्रभाव हुने सेवा प्रभावकारी नभएको र फार्मेसीमा ११ सय १५ थरिको औषधी नभएको, यातायात कार्यालयमा राजस्व बुझाउने समय कम भएको, बुर्तिबाङको इलाका प्रशासन कार्यालयमा कर्मचारी नियमित रुपमा नबस्दा सेवा प्रभाव प्रभावित भएको, मध्यपाहाडी लोकमार्ग पिच नभएको, सरकारी कार्यालय र पालिकाहरुले सार्वजनिक सुनवाई नगरेको अटो रिक्सा जथाभावि चल्न दिदा यात्रुहरुको सुरक्षामा जोखिम बढेको विषयमा प्रश्न उठाएका थिए ।

कार्यक्रममा जिल्लाका सूचना अधिकारीहरुले आफूहरुले सूचना प्रवाहमा कुनै पनि कन्जुस्याई नगरेको बताएका थिए ।

साथै कार्यालयले चालु अर्थिक वर्षमा गरेको कामको बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी सुवेदीको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung