बागलुङ । धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले जानकारी दिए ।
उक्त अभियानअन्तर्गत प्राध्यापकहरुलाई सोध सम्बन्धी अनुसन्धानमा लगाउने, स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लगाउने लक्ष्यले केन्द्र संचालन हुन लागेको हो ।
मंगलबार क्याम्पसले प्रभु बैंकसँग र आइडिया स्टुडियो नेपालसँग यो सम्झौता गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्यामपसबाट गठित ‘नेस्ट वेव स्टार्ट अफ सर्कल’ले बैंकलाई पठाएको प्रस्तावनामा यो सम्झौता भएको स्ववियु सभापति सुदिप सागर कँडेलले बताउनु भयो ।
प्रस्तावपत्र बमोजिम बैंकले उल्लेखित प्रयोजनका लागि उद्यमशीलता विकास केन्द्र स्थापना गर्न सहमति दिएको थियो । मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा सम्झौतामा क्याम्पस प्रमुख प्रा डा रामप्रसाद उपाध्याय, बैंकका सिइओ अशोक शेरचन र आइडिया स्टुडिओ नेपालका डा छिरिङ लामाले हस्ताक्षर गर्नु भयो ।
पहिलो चरणमा बैंकले आर्थिक सहयोग उपलब्ध गराउने छ । त्यसपछि विद्यार्थीलाई उद्यमशील बनाउने, सीप विकास, ज्ञान सम्बन्धी पाठ्यक्रम तयार गर्नेछ ।
साथै, आइडिया स्टुडियोले प्रयोगशालामा आधारित ७ दिने उद्यमशीलता कार्यशाला पनि संचालन गर्ने छ । यो अभियानले वर्ष भरीनै कुनै न कुनै अभिमुखीकरण, अनुसन्धान, विषयगत सेमिनार संचालन हुनेछन् । ती कार्यक्रमका लागि आवश्यकता अनुसार विषयगत विशेषज्ञहरु झिकाइनेछ ।

क्यामपसमा इन्क्युवेशन प्रयोगशाला निर्माण गरिने छ । ती अभियानबाट उपयुक्त देखिएका विद्यार्थीलाई उद्यमशीलताका लागि छनौट गरिने कँडेलले जानकारी दिनु भयो ।
क्याम्पसले गुणस्तर प्रत्यायान सुनिश्चितता क्युएए प्रमाणपत्र पाइसकेकोले अब यहाँबाट उत्पादन हुने जनशक्तिहरु उद्यमशील र सबै क्षेत्रमा दक्ष्य बनेर निस्कने गरी यो अभियानले साथ दिने कँडेलको भनाई छ ।
क्युएए पाएपछि विश्व विद्यालय अनुदान आयोगले कम्तिमा १५ लाख बराबरको उद्यमशीलता कार्यक्रमका लागि अनुदान दिने व्यवस्था छ ।
नीति क्षेत्रको सहकार्यमा क्याम्पसले थाल्ने उद्यमशीलता अभियानले आयोगको सहयोगमा पनि निरन्तरता र बढोत्तरी हुन सक्ने उपाध्यायले जानकारी दिनु भयो ।
सम्झौताका लागि आएका बैंकका सिइओ शेरचनले क्यामपसको अक्षय कोष निर्माणमा व्यक्तिगत रुपमा जोडिने र बिबिए कार्यक्रममा उत्कृष्ठ हुने ३ जनालाई हरेक वर्ष बैंकको रोजगारीमा जोड्ने समेत आश्वासन दिए । क्याम्पसले अक्षय कोष निर्माण अभियान चलाईरहेको छ ।
यो कोषमा मंगलबारै बागलुङ नगरपालिका-२ का मनोविज्ञान श्रेष्ठ र श्रीजय श्रेष्ठ सहितको परिवारले ३ लाख ११ हजार रुपैयाँ सहयोग गरेको उपाध्यायले जानकारी दिएका छन् ।
क्याम्पसले केही वर्ष अघिदेखि अनुसन्धानको काम पनि गर्दै आएको छ । विज्ञान संकायका विद्यार्थीले त कृषि क्षेत्रमा नवप्रवद्र्धनात्मक र सिद्दान्त समेत स्थापना गर्ने गरी अनुसन्धानको काम गरिरहेका छन् ।
त्यस्तै विविए, विविएस र स्नातकोत्तर तहका कार्यक्रमका विद्यार्थीले पनि शोधपत्रसहित अन्य बिभिन्न अनुसन्धानका काम गरिरहेको उपाध्यायले जानकारी दिए ।
विभिन्न प्रकारका नवप्रर्वदनात्मक काम गरेकै कारण क्युएए प्रमाणपत्रका लागि पनि विश्वविद्यालय अनुदान आयोग सकारात्मक भएको समेत प्राध्यापकहरुको भनाई छ ।
ढोरपाटनबाट



















































































































































































































