बागलुङ । रोटरी क्लब अफ बागलुङले बडिगाडको पहिरोबाट बिस्थापित घर परिवारलाई अक्वा बक्स प्रदान गरेको छ ।
बडिगाड गाउँपालिका-९ बलघाँस, र वडा नं १० आरुपाटाका पहिरो पीडितले तत्काल पाउने गरी बुधबार जिल्ला विपद व्यवस्थापन समिति बागलुङका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले पाँच वटा अक्वा बक्स हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, रोटरी क्लब अफ बागलुङका पूर्व अध्यक्ष दयाराम पौडेल, क्लबका उपाध्यक्ष पुनम शर्मा र सचिव निशान खड्काको उपस्थिति रहेको थियो ।
दुई वटा अक्वा बक्स रोटरी क्लब अफ ज्ञानेश्वरका संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठ र रोटरी डिष्ट्रिक ३२९२ बाट प्राप्त भएको रोटरी क्लब अफ बागलुङका पूर्व अध्यक्ष दयाराम पौडेलले जानकारी दिनु भयो ।
पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ भने बुधबार दिउँसो ३ वर्षका आरुष थापाको पनि शव भेटिएको छ ।
पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको एसपी ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।
उनीहरूको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको कँडेलले जानकारी दिनु भयो । पहिरोमा परी घाइते भएका तीन जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



















































































































































































































