१७ कार्तिक २०८३, सोमबार

 

व्यापार संगठनद्वारा बडिगाड पहिरोपीडितको सहयोगार्थ सहयोग संकलन सुरु

बागलुङ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङले बडिगाड गाउँपालिकाको पहिरो पीडितको सहयोगार्थ सहयोग रकम संकलन अभियान सुरु गरेको छ ।

संगठनले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटाका पहिरो पीडितलाई राहत उपलब्ध गराउन बागलुङ बजारमा रकम संकलन अभियान शुक्रबारदेखि सुरु गरेको हो ।

व्यापार संगठनले पहिलो दिनमा नै ३६ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको प्रमुख आथित्यतामा बिहीबार सम्पन्न व्यापार संगठनको आकस्मिक बैठकले व्यापार संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा  राहत संकलन समिति गठन गरेको संगठनका महासचिव गोकुल कँडेलले जानकारी दिनु भयो ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र व्यापार संगठनका महिला उद्यमी संयोजक ललिता थापाको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु भएको हो ।

आज समित चोक, वुद्ध चोक, मिलिजुलि टोल, लालिगुराँस चोक, श्रीनगर टोल, उपल्लाचौर र ओडारचौरमा राहत संकलन भएको संगठनका कार्यसमिति सदस्य राजन शर्माले बताउनु भयो ।

आइतबार पनि आर्थिक संकलन जारी रहने र आर्थिक सहयोग संकलन अभियानको बारेमा जिल्ला प्रशासन कार्यालय बागलुङ र बडिगाड गाउँपालिकालाई जानकारी गराइएको व्यापार संगठनका कोषाध्यक्ष मनकाजि विश्वकर्माले जानकारी दिनु भयो ।

संकलित रकम र राहत सामग्री जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति र बडिगाड गाउँपालिकासँगको समन्वयमा पहिरोपीडितलाई उपलब्ध गराइने भएको छ ।

गत सोमबार रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् ।

पहिरोले एक घर पूर्ण रुपमा नष्ट भएको र ४२ परिवार प्रभावित भएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

अहिले उक्त स्थानमा राहत र पूर्णस्थापनाको कार्य जारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung