१८ कार्तिक २०८३, मंगलवार

 

व्यापार संगठनको पहलमा बडिगाड पहिरोपीडितको सहयोगार्थ जुट्यो ५८ हजार

बागलुङ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङको पहलमा बडिगाड गाउँपालिकाको पहिरो पीडितको सहयोगार्थ बागलुङ बजारबाट ५८ हजार ७ सय ९० रुपैयाँ सहयोग जुटेको छ ।

संगठनले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटाका पहिरो पीडितलाई राहत उपलब्ध गराउन गत शुक्रबार र आइतबार बागलुङ बजारका व्यवसायीहरुबाट सहयोग संकलन गरिएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङका कोषाध्यक्ष मनकाजि विश्वकर्माले जानकारी दिनु भयो ।

साथै श्रीकृष्ण मेडिको कर्सनका प्रोपराइटर अनुप कुमार श्रेष्ठले खानेपानी प्रशोधन गर्न ४ हजार पाँच सय रुपैयाँको पियुस औषधी पनि उपलब्ध गराउनु भएको छ ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको प्रमुख आथित्यतामा गत बिहीबार सम्पन्न व्यापार संगठनको आकस्मिक बैठकले संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा राहत संकलन समिति गठन गरेको थियो ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र व्यापार संगठनका महिला उद्यमी संयोजक ललिता थापाको नेतृत्वमा आर्थिक संकलन गरिएको थियो ।

बजारको समित चोक, वुद्ध चोक, मिलिजुलि टोल, लालिगुराँस चोक, श्रीनगर टोल, उपल्लाचौर, ओडारचौर, जिपपार्क, धौलागिरि चोक, वालमन्दिर रोड, लोकतान्त्रिक चोक, च्याम्बर रोड र किनारा टोलमा राहत संकलन गरिएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङ नगर समितिका अध्यक्ष गगनबहादुर पुन मगरले जानकारी दिनु भयो ।

आर्थिक सहयोग संकलन अभियानको बारेमा जिल्ला प्रशासन कार्यालय बागलुङ र बडिगाड गाउँपालिकालाई जानकारी गराइएको व्यापार संगठनका महासचिव गोकुल कँडेलले जानकारी दिनु भयो ।

संकलित रकम र राहत सामग्री जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति, बडिगाड गाउँपालिका, वडा नं ९ र १० का वडा अध्यक्षसँगको समन्वयमा पहिरोपीडितलाई उपलब्ध गराइने भएको छ ।

गत सोमबार रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् ।

पहिरोले चार घर पूर्ण रुपमा नष्ट भएको र ६२ परिवार प्रभावित भएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung