बागलुङ । बागलुङ नगरपालिका-४ उपल्लाचौरको दाबगरामा निर्मित बागलुङ बसपार्कलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई बागलुङ नगरपालिकाले सम्मान गरेको छ ।
मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ३५ जना जग्गादातालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
२३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा आएको भन्दै जग्गादाता र स्थानीय हर्षित भएका थिए भने विभिन्न झाँकी र नृत्य समेत प्रदर्शन गरिएको थियो ।
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो ।
जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ भने त्यसको मूल्य रु पचास करोडभन्दा बढीको छ ।
बसपार्कको लागि जग्गा दान गर्नु हुने सबै दाता धन्यवादको पात्र हुनु भएको र बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
२०५८ सालमा बसपार्क निर्माणका लागि यहाँका ३५ घरपरिवारले ५२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
बसपार्क निर्माणपछि पचास प्रतिशत जग्गा घडेरीका रूपमा पुन फिर्ता गर्नुपर्ने जग्गाधनीहरूसँग नगरपालिकाले १२ बुँदे सम्झौता गरिएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो ।
बसपार्कमा सुविधा सम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।
बागलुङ नगरपालिका–४ मा बनाइएको बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ-बेनी सडक नजिकै रहेको र हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएको छ ।

















तस्बिर : दिनेश जिसी













































































































































































































