४ श्रावण २०८३, सोमबार

 

उपचारपछि घर फर्कन पाएनन् आमाछोरी

बागलुङ । आमाको खुट्टाको उपचारपछि घर फर्किएका उनीहरु बाटोमै दुर्घटनामा ज्यान गुमाउनु परेको छ ।

आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाण्डौ बसाई सकेर रुकुम पूर्व तर्फ फर्कदै गर्दा बागलुङको गलकोटमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा आमाछोरीको ज्यान गएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी आमाले पनि ज्यान गुमाएकी छन् ।

दुर्घटनामा रुकुम पूर्व गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा, उहाँकै ६१ वर्षीया आमा गोपीमाया बुढा र सोही गाउँपालिका–२ का वडा अध्यक्ष जसबहादुर श्रीपालीको घटनास्थलमे मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्व तर्फ जादै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भीरमा खसेको थियो ।

“गाउँपालिका उपाध्यक्ष आमालाई खुट्टाको उपचार गर्न गएर घर फर्कदै गर्दा दुर्घटना भएको थियो” सूचना अधिकारी पौडेलले भन्नुभयो “उहाँ शी लिड्स आईकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आईकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्चालमा भोट माग्दै काठमाण्डौबाट घरतर्फ लाग्नुभएको रहेछ ।”

प्रतिस्पर्धा जसमा देशभर उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो । अनलाइन मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि सर्टलिस्टमा हुनुहुन्छ ।

यस्तै जिप चालक रुकुम पूर्व भुमी गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाईते हुनुभएको छ । उहाँको टाउकोमा गम्भिर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

शुक्रबार विहान ९ बजे रा १ ज २०० नम्बर को पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

उपाध्यक्ष बुढाले सामाजिक संजालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राख्दै आउनुभएको थियो । उहाँले बुवा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौं समेत घुमाउनुभएको थियो ।

७ वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाउनुभएको थियो । उहाँले ६१ वर्षीय आमाको स्याहारदेखि हेरचाह आफै गर्दै आउनुभएको थियो ।

आमालाई उपचार र घुमाएर खुसी बनाएर घर फकनुभएकी उपाध्यक्ष आमासँगै मृत्यु हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung