४ श्रावण २०८३, सोमबार

 

बागलुङ बसपार्क सञ्चालन गर्न नगरपालिका र बस व्यवसायी समितिबीच सम्झौता

बागलुङ । बागलुङ नगरपालिका-४ उपल्लाचौरको दाबगरामा निर्माण गरिएको बसपार्क  सञ्चालन हुने भएको छ ।

गण्डकी प्रदेशको सुविधा सम्पन्न लामो दुरीको बसपार्क धौलागिरी गण्डकी यातायात सेवा प्रालिसँग एक वर्षे सम्झौतामा सञ्चालन हुने भएको हो ।

२३ वर्षपछि निर्माणसँगै सञ्चालनमा आएर उद्घाटन गरिएको बागलुङ बसपार्कलाई निरन्तर चलाउन नगरपालिका र यातायात व्यवसायीहरु सक्रिय भएका हुन् ।

बसपार्कबाट बस, मिनि बस र माइक्रो बस निरन्तर रुपमा सञ्चालन गर्न यातायात व्यवसायीले नगरपालिकासँग आधिकारीक सम्झौता गरेर अघि बढेका छन् ।

अहिले बजार मूल्य अनुसार पचास करोडभन्दा बढी मूल्य पर्ने १७ रोपनी जग्गा विसं २०६० सालमा जग्गा व्यवस्थापन समितिले बसपार्क बनाउन बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २३ वर्षमा आधुनिक बसपार्क सञ्चालनमा आएको हो ।

बसपार्कमा आंशिक रुपमा बस चलिरहेको र काउन्टर खोल्ने क्रम जारी भइरहेको सन्दर्भमा भदौ २४ गते बागलुङ नगरपालिका र यातायात व्यवसायीबीच सम्झौता गरेर बस राख्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी र बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलबीच बसपार्क एक वर्षका लागि चलाउन रु १२ लाख ४३ हजारमा सम्झौता गरिएको छ ।

बागलुङ नगरपाकिला–४ स्थित दाबगराको बागलुङ बसपार्क र बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको गरेर एकमुष्ट सम्झौता गरिएको छ ।

उपल्लाचौरको बसपार्कमा अहिले दैनिक बस छुटिरहेको धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

“बसपार्क एकैपटक सबै बस आउछन् भन्ने छैन, बसपार्क चलाउनलाई हामीले नगरपालिकासँग सम्झौता समेत गरिरहेका छौं, चिप्लेटी बसपार्कमा भाडामा रहेका होटल तथा खाजाघरहरु विस्तारै उपल्लाचौर सर्दै छन्, प्रहरीले समेत सुरक्षा दिन थालेको छ” केसीले भन्नुभयो “यात्रुहरुको माग, प्रचार प्रसार, आवश्यक पूर्वाधारहरु निर्माण हुँदै जाने र बसपार्क नियमित चलाउदै लैजाने गरी हामीले काम गरिरहेका छौं ।”

नगरपालिकालाई दुईवटै बसपार्कको एकमुष्ट रुकम तिर्ने गरी सम्झौता गरिएको केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

अहिले बसपार्कबाट दैनिक लामो दुरीको तीन वटा बस र छोटा दुरीका पाँच वटा बस चलि रहेको अध्यक्ष केसीले बताउनु भयो । तीन चार दिनपछि पोखराको लागि बस सञ्चालनमा आउने र त्यसको व्यवस्थापनको लागि काम अगाडि बढि रहेको केसीले जानकारी दिनु भयो ।

नगरपालिकाले नगर विकास कोषबाट ५ं.५ प्रतिशत ब्याजमा २० वर्षभित्र तिर्नेगरी विसं २०७४ मा नौ करोड चार लाख ३९ हजार ऋण ५ं।५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी लिएर बसपार्क बनाउने कार्य बल्ल अगाडि बढ्ेको थियो । विसं २०७५ असोजमा ठेक्कामा गएको बसपार्क विसं २०७८ को सुरुतिर निर्माण सम्पन्न भएको थियो ।

यातायात सेवालाई व्यवस्थित गर्न हामीले नगरपालिका, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको सहकार्यमा बसपार्क चलाउन थालेको केसीको भनाई छ ।

नगरपालिका र यातायात व्यवसायीबीच सटर, शौचालय, छाप्रो तथा काउन्टरको न्यूनतम भाडादर कायम गरी एकमुष्ट सम्झौता गरिएको छ ।

२०५८ सालमा नगरपालिकालाई दिएको जग्गालाई बसपार्क बनेको छ भने घडेरी फिर्ताको काम बाँकी रहेको छ ।

पहुँचमार्ग विस्तारपछि बागलुङ बसपार्क सञ्चालनका लागि भदौ १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उद्घाटन गर्नुभएको थियो ।

बसपार्कमा ७० बस, १०० कार एकै पटक पार्कीङ गर्न सक्ने सुविधा रहेको छ । बसपार्कमा २० वटा व्यापारिक सटर समेत रहेका छन् ।

बसपार्कमा सुविधा सम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।

हेर्नुस सम्झौता

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung