१९ जेष्ठ २०८३, मंगलवार

 

गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-३ स्थित गाजाको दहमा गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।

सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको दहको आयोजनामा आगामि मंसिर ८ गतेदेखि १४ गतेसम्म गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।

सिद्ध बराह मन्दिरको पुननिर्माण गरि दिर्घकालिन गुरुयोजना बनाएर धार्मिक र ऐतिहासिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने, गाजाको दहको संरक्षण गर्दै ताल परिसरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्यले ज्ञान महायज्ञ आयोजना गर्न लागिएको वडा अध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो ।

मंसिर ८ गते दिउँसो १ बजे भजनकिर्तन, बाजागाजा, शोभा यात्रा गरि ज्ञान महायज्ञको उद्घाटन गरिने, ९ गतेदेखि हरेक दिन विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पाठपरायण, २ बजेदेखि ५ बजेसम्म कथा प्रवचनका साथमा हरिनाम संकिर्तन, झाँकी, आरती र प्रसाद वितरण गरिने उहाँले बताउनुभयो ।

बागलुङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मंसिर १५ गते प्रमुख कथा वाचक आचार्य शिवदत्त रेग्मीबाट बालाचर्तुदशीको अवसरमा शतबीज छर्ने कार्यक्रमको शुभारम्भ पनि गरिने बताउनुभयो । ज्ञान महायज्ञको प्रमुख वाचकमा रेग्मी र विशिष्ट वाचकको रुपमा विद्धान डा ध्रुव सापकोटा रहने जानकारी दिनुभयो ।

उहाँले ५ सयभन्दा माथि सहयोग गर्ने सहयोगदातालाई रकम अनुसारको सम्मानपत्र प्रदान गरिने र उनीहरुलाई प्रत्येक दिन बाजागाजा सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।

सिद्ध बराह मन्दिर संरक्षण समितिका अध्यक्ष लोकबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा र सांस्कृतिक संयोजक टेकबहादुर केसी संगमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन पत्रकार दिलिप प्रतेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung