बागलुङ । बागलुङ नगरपालिका – ४ निरयघाटमा निर्माण हुदै गरेको मानव सेवा आश्रमको नयाँ भवनमा एउटा कोठा निर्माणका लागि श्रेष्ठ परिवारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ।
व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफनो बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा स्थापना गर्नु भएको ‘हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोष’ बाट आश्रममा कोठा निर्माण गर्नको लागि पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ उपलब्ध गराउन लागेको कोषका संरक्षक तीर्थप्रसाद श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।
सडकआश्रित मानवको उद्धार गरी उनीहरुलाई आम मानिस सरह सम्मान जनक तरीकाले बस्ने वातावरण निर्माण गर्नको लागि र मानवियताको रक्षाको लागि बुबाआमाको स्मृतिमा कोठा निर्माण गर्न लागेको कोषका संरक्षक मनोविज्ञान श्रेष्ठले बताउनुभयो ।
पाँच लाख सहयोग गर्ने परिवारको नाममा मानव सेवा आश्रमको नयाँ भवनको एक कोठामा शिलालेख राख्ने व्यवस्था भएको आश्रमको अभिभावक निर्मलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि ‘हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोष’ ले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणको लागि एक लाख एक हजार सहयोग, धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृत्ति कोष निर्माणको लागि तीन लाख एघार हजार तीन सय एघार रुपैयाँ, विद्यामन्दिर माध्यमिक विद्यालयमा सात लाखको छात्रवृत्ति कोष स्थापना गरेको कोषका संयोजक श्रीजय श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठ परिवारले विस २०७३ सालमा नेपाल पत्रकार महासंघ बागलुङ शाखामा पाँच लाख रूपैयाँ राशिको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नु भएको थियो ।
समाचार र स्तम्भ लेख्नेलाई पुरस्कार र पत्रकारिता तालिम दिने उदेश्यले कोष स्थापना भएको कोषका संस्थापक सदस्य श्यामप्रसाद श्रेष्ठले बताउनुभयो ।
बागलुङ नगरपालिका – ४ निरयघाटमा मानव सेवा आश्रमको सुविधा सम्पन्न आधुनिक भवन निर्माण हुँदैछ । उक्त भवन विसं २०८२ सालसम्म सम्पन्न गरी आश्रम सार्ने योजना रहेको छ ।



















































































































































































































