४ श्रावण २०८३, सोमबार

 

यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीद्वारा ट्रायल सेन्टरको खड्के अनुगमन

बागलुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातायात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर) स्थलको छड्के निरीक्षण गर्नुभएको छ ।

बुधबार मन्त्री केसी बागलुङ नगरपाकिला–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुग्नुभएको हो ।

मन्त्री केसीले ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिनुभयो ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परीक्षा चलाउन यातायात कार्यालय निमित्त कार्यालय प्रमुख अशोक घिमिरे र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेलाई निर्देशनसमेत गर्नुभयो ।

उहाँले लाइसेन्स प्राप्तिको नतिजालाई १५ दिनको समयलाई एक हप्तामा ल्याएको बताउँदै मन्त्रालको निर्देशनअनुसार परीक्षाफल प्रकाशन गर्न निरीक्षणका क्रममा यातायात कार्यालय र ट्राफिक प्रहरीलाई जानकारी गराउनुभएको थियो । मन्त्री केसीले दुई पाङ्ग्रे प्रयोगात्मक परीक्षाको १५ मिनेट अवलोकन समेत गर्नुभएको थियो ।

उहाँले प्रयोगात्मक परीक्षा स्थलमा खटिनुभएका यातायात व्यवस्था कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घिमिरे, ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख निउरे र अन्य कर्मचारीलाई पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्न निर्देशन गर्नुभयो ।

उहाँले सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्ने, भीडभाड नगर्ने, परीक्षा स्थललाई सफा राख्ने र परीक्षार्थीले मनोबल उच्च रहनेगरी परीक्षा दिने वातावरण मिलाउन कर्मचारी र ट्राफिक प्रहरीलाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त हुनुभएको थियो । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठी लगायतमा समय खेर नफाल्ने निर्णय गर्नुभएको थियो ।

मन्त्रालयको कामकारबाहीको अवस्था बुझेपछि मन्त्री केसी फिल्ड भिजिटमा निस्कन थाल्नुभएको छ ।

तिहार बिदा सकिएपछि मन्त्री केसी जिल्लाका ठूलो लगानीका पूर्वाधार निर्माण र यातायात क्षेत्रमा भएको समस्याको पहिचानका लागि निस्कन थाल्नुभएको हो ।

फिल्डमा जाँदा यथार्थ बुझिन्छ, त्यहाँको खास समस्या बाहिर आउँछ, काम गर्न सहज हुन्छ, मन्त्री केसीले भन्नुभयो, आफू अनभिज्ञ रहेमा काम कसरी हुन्छ भन्ने थाहा पाउन र योजना बनाउन स्थलगत अध्ययन आवश्यक हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung