२० जेष्ठ २०८३, बुधबार

 

गलकोटमा वेङ्कटेश्वर शिवालय मन्दिरको प्राण प्रतिष्ठा

बागलुङ । वेङ्कटेश्वर शिवालय मन्दिर गलकोट नगरपालिका वडा नम्वर ३ को प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ३ हटिया निवासी बेल बहादुर भण्डारी र आशा भण्डारी तथा उहाँका परिवारहरुबाट निर्मित वेङ्कटेश्वर शिवालय मन्दिरको आज प्राण प्रतिष्ठा गरिएको हो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले मन्दिर केवल पुजा गर्ने स्थान मात्र नभएर धर्म संस्कृतीलाई जगेर्ना गर्ने स्थान तथा आश्थाको प्रतिक भएको बताउनुभएको छ ।

उहाँले धर्मको साझा आस्था राख्ने ठाउँ मन्दिर भएको भन्दै समुदायलाई एकताबद्ध बनाउँदै धार्मिक र ऐतिहासिक कार्यमा अग्रसर हुनुपर्ने समेत बताउनुभयो ।

गैरेले समाजमा व्यक्तिगत रुपमा धार्मिक स्थल निर्माण गरी सार्वजनिक महत्व दर्साएको बताउँदै मन्दिर निर्माणकर्ता भण्डारी परिवारलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

मन्दिरको निर्माणकर्ता भण्डारी परिवारद्धारा ९ लाख १ हजार १ सय ११ को अक्षयकोष स्थापना सहित वेङ्कटेश्वर शिवालय मन्दिर गलकोट नगरपालिका वडा नम्वर ३ को वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै वडा कार्यालयद्धारा मन्दिर निर्माणकर्ता भण्डारी परिवारलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रमको अवसर पारी मन्दिर निर्माणकर्ता भण्डारी परिवारले गलकोट नगरपालिका वडा नम्वर ३ र ६ का १९ जना १ हजार ८ चन्द्रदर्शन पुरा गरेका ज्येष्ठ नागरीकहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व सांसद कुलराज शर्मा, त्रिपुरेश्वर महादेव मन्दिर रामकोट धामका संरक्षक ब्रहमचारी गुरु हंस चैतन्य, राष्ट्रिय जनमोर्चाका गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम मन्दिर निर्माणकर्ता बेल बहादुर भण्डारीको अध्यक्षता, मन्दिर निर्माणकर्ताका कान्छो छोरा माधव भण्डारीको स्वागत र वडा नम्वर ३ का वडा सचिव चन्द्र बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै त्रिपुरेश्वर महादेव मन्दिर रामकोट धामका संरक्षक ब्रहमचारी गुरु हंस चैतन्यले नेपाल राष्ट्रका पशुपति नाथका १ सय ८ शिवलिङ्ग, शिव पाञ्चायन देवता, हनुमान, नवग्रह, बटुक, भैरव र मनकामना देवी देवताका मूर्तिहरुको प्राण प्रतिष्ठा समेत गर्नुभएको थियो ।

त्यस्तै जनप्रतिनिधी, राजनितीक दलका प्रतिनिधी, कर्मचारी, मन्दिर निर्माणकर्ताका परिवार, आमा समुह, टोल विकास संस्था, विद्यार्थि लगायतका भक्तजनहरुको सहभागिता रहेको शोभा कलस यात्रा गलकोट नगरपालिका वडा नम्वर ३ को मन्दिरबाट सुरु भई लोकतन्त्र चोक, गणतन्त्र चोक, मध्यपहाडि लोकमार्ग, जिपपार्क सहित बजार परिक्रमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung