मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो।
औँला काटी कलम बनावे रगतके मसिया बनावे, यै हो ।
हाय-हाय रगत के मसियाँ बनावे सखियाँ । धड्कन लाग्यो छाती हो।
काठमाडौंको कुलेश्वर बस्तीमा पुरानाे र नयाँ पुस्तासँगै बसेर यी भाकामा फागु गीत गाउँदै थिए। गीतमा मादलको ताललाई लयबद्ध बनाउँदै गाउँदै होलीको रंगसँग रमाउँदै थिए युवा युवतीदेखि बुढाबुढी ।
फागुपूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जर्गेनाका लागि बागलुङ समाज कल्याण केन्द्र काठमाडौं संरक्षणमा जुटेको छ। यहाँका नेवार समुदायले हरेक वर्ष होली पुर्णिमाका दिन आफ्नो परम्परागत संस्कृतिको संरक्षण गर्दै यो पर्व मनाउँदै आएका छन् ।
‘पुरानो संस्कृतिलाई हामी हराउन दिँदैनौँ। यसको हामी मौलिक संस्कृति जगेर्नाका लागि पहल थालेका छौँ। यहाँ धेरै पुराना संस्कृति छन्, यिनको नयाँ पुस्तामा हस्तान्तरणका लागि हामी पहल थालेका छौँ,’ गायक मनमोहक श्रेष्ठले भन्नुभयो, ‘फागुपूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो ।’
नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु अर्थात् होली खेलिन्छ। होलीमा नेवार मात्र हैन, अन्य समुदायको पनि उपस्थिति रहन्छ । बागलुङबाट विभिन्न पेशा व्यवसाय गर्न काठमाडौंमा आएर यहिँ बसोबास गर्दै आएका नेवार समुदायले प्रत्येक वर्ष काठमाडौंको कुलेश्वरमा फागु गीत र भजन गाएर बजार परिक्रमा गर्ने प्रचलन रहेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौ सदस्य तथा फागु पर्व व्यवस्थापन समितिका संयोजक सम्पूर्ण नारायण भारीले नयाँ विश्वलाई बताउनुभयो।
भक्तपुरबाट तीन सय वर्ष पहिले बागलुङ गएका नेवार समुदायले फागु गीत संरक्षण गर्दै आएको बागलुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष किस्मतमणि श्रेष्ठकाे भनाइ छ ।
तस्बिर हेर्नुहाेस्




















































































































































































































