
भक्तपुरको प्रसिद् बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।
जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरु भएको छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ ।
जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
उनका अनुसार भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्वजात्रा उल्लेख गरिएको छ । यस्तै, भक्तपुरको दरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख छ ।
हाल पनि तलेजुमा बिस्का जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । श्रेष्ठका अनुसार यी प्रमाणका आधारमा विश्वकेतु संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट हुन पुगेको हो ।
श्रेष्ठका अनुसार यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उनी बताउँछन् ।
हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएको केही संस्कृतिविद् बताउँछन् ।
इतिहासकारहरु भने भने ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट ल्याइएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी पाँचतले मन्दिर प्रांगणबाट जात्रा सुरु गरिएको छ । स्थानीय टौमढी क्षेत्रमा बनाइको तीनतले भैरवनाथको रथ स्थानीयले रथको अगाडि पछाडि राखिएको डोरी तानातान गरेर क्वने (तल्लो) क्षेत्र र ठने (माथिलो) क्षेत्र तानेर जात्रा मनाउने चलन रहिआएको छ ।
स्थानीले रथको अगाडि पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।
शिलापत्रबाट