बागलुङ । धार्मिक विधिअनुसार हिन्दु परम्परामा परिवारका सदस्यको मृत्यु हुँदा १३ दिनसम्म काजक्रिया गर्नुपर्छ । सहरी क्षेत्रमा भाडामा बसेका तथा सानो घर बनाएर बसेकाहरुले नित्य क्रिया गर्ने स्थान पाउन गाह्रो छ ।बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न ग्राहो भएपछि र किरिया बस्न सामुदायिक भवन नभएपछि समुदायका सदस्यहरुले भवन बनाएका हुन् ।
त्यसैले बागलुङ नगरपालिका – ४ को उपल्लाचौर निवासीहरुले चन्दा संकलन गरेर सामुदायिक क्रियापुत्री भवन बनाएका छन् । २३ लाख लागतमा बनेको भवन शनिबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै खड्काले सामुदायिक भवनले समाजमा बस्नेहरुका लागि अधिकतम काम दिने बताउनुभयो । तीन कोठे भवन बनाउन नगरपालिकाले १ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको थियो । अन्य सबै बजेट स्थानीयले चन्दा संकलन गरेर बनाएको सामुदायिक क्रियापुत्री भवन निर्माण समितिका सचिव रामकाजी भण्डारीले बताउनुभयो ।
यो भवन निर्माण गर्न हरिबहादुर जिसी सन्तोषको अध्यक्षतामा समिति गठन थियो । भवन बनिसकेपछि स्थानीयलाई उपयोगमा दिने र नियमित व्यवस्थापन गर्न स्थानीय बलबहादुर भण्डारीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति पनि बनेको छ । शनिबारदेखि उक्त भवन उपयोगका लागि खुला समेत गरिएको भण्डारीले जानकारी दिए ।कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य र नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वकेन्द्रीय सदस्य सुदेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
निर्माण समितिका अध्यक्ष हरिबहादुर जिसी सन्तोषको अध्यक्षता, सचिव रामकाजी भण्डारीको संचालनमा सम्पन्न भवनको दिगोपनाका लागि सबै क्षेत्रको सहयोग चाहिने सरोकारवालाले बताउनुभयो ।



















































































































































































































