बागलुङ । शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शितल हावापानी वर्खा याममा ढोरपाटनको विशेषता हो यो । थरिथरीका फूलले रंगिएको ढोरपाटन वर्खा याम अन्य समयभन्दा झनै रमाइलो छ ।
वर्खाको समय अन्यत्र पर्यटकीय गतिविधि शुन्यप्राय जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले गुल्जार बनेको छ । ८ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फूलेका रंगीबिरंगी वन फूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।
ढोरपाटनको फाँट र पाखा अनेकथरीका बुकी फूलेर रंगिएपछि रमणीय बनेको छ । प्रचार–प्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा वर्खामा समेत उत्तिकै पर्यटकहरु आउने गरेको पाइएको छ ।
वर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौथरीका रंगीबिरंगी फूल रहेको पाइएको छ । स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असार देखि भदौ सम्म अन्य ठाउँमा पर्यटकको आगमन शुन्य भएपनि ढोरपाटन गुल्जार बनिरहेको बताउनुभयो ।
“वर्खामा ढोरपाटन आउने सडक असहज छ तर यहाँको मनोरम दृश्यले पर्यटकको सडक यात्रा बिर्साउने गर्दछ, यस्तो वर्खामा समेत आफ्नो घरबासमा पाहुँनाको कमी छैन, पछिले दुई हप्ता यता मौसममा सुधार भएसंगै बुकी पुग्ने पदयात्रीले घरबास भरिएर अन्य होटलमा पठाउन बाध्य भएको छु” घर्तीले भन्नुभयो “यहाँको मुख्य विशेषता भनेको रंगीबिरंगी फूल हो पदयात्रा गर्न सक्नेहरु चार हजार भन्दा माथीको उचाई बुकीपाटनमा पुग्छन् भने, पदयात्रा गर्न नसक्ने ढोरपाटन उपत्यकाका फूलसंगै घोडा सफारीमा रमाउने गरेका छन् ।”
पर्यटकका कारण यहाँका घरबास, होटल तथा घोडा व्यवसायी समेत उत्साहित छन् । २५ जना क्षमता रहेको घरबास यो वर्खामा समेत भरिएर पाहुँना अन्य होटल तथा घरबासमा पाठाइरहेको बताउदै यो सिजनमा पोखरा, बुटवल देखि काठमाण्डौबाट समेत पर्यटकहरु आउने गरेको पाइएको छ ।
कञ्चन उत्तरगंगा नदी, सुन्दर र समथर भू–बनोट, अनेकथरी बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेको काठमाण्डौबाट मोटरसाईकलमा घुम्न आउनुभएको अनिल राजवंशीले बताउनुभयो । यहाँ फूल्ने रातो, सेतो, पहेलो, गुलाफी जस्ता अनेकौ थरीका फूलले पर्यटकहरुलाई ढोरपाटन तानिरहेको छ ।
राजबंशीले चार हजार मिटर भन्दा माथीको बुकिपाटन समेत एक दिनको पदयात्रामार्फत पुगेको बताउदै ढोरपाटनको शौन्दर्यता बयान गरेर नसक्ने बताउनुहुन्छ । बुर्तिबाङ देखि ढोरपाटन सम्मको झण्डै ३० किमि सडकलाई स्तरीय बनाउन सकेमा ढोरपाटनमा पर्यटकको कमी नहुँने उहाँको भनाई छ । राजवंशीले कष्टकर यात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताउनुभयो ।
“टिकटकमा अहिले निकै शुन्दर दृश्य देखिएका थिए, ढोरपाटन उपत्यका, पदयात्रा मार्फत बुकी पाटन गएको, भेडाका बथानसंगै सयौ थरीका फूलहरुको दृश्यले लोभ्यायो एक हप्ताको छुट्टी लिएर श्रीमतीसंगै काडमाण्डौबाट ढोरपाटन आए” राजबंशीले भन्नुभयो “यो वर्खामा समेत पदयात्रीको कमी रहेन बुकी पाटनमा एक दिनमै सयौँ पर्यटक त्यहाँ आफू संग गएको, पदयात्राका क्रममा बाटोमा साँघु र गोठहरु निर्माणले यात्रालाई केही सहज बनाएको पाए ।”
ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटकहरु लालायीत भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरी फूलने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ ।
लेकमा फूल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाई छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यमले यहाँ आउन समेत निकै सजिलो भएको छ ।













































































































































































































