३ श्रावण २०८३, आईतवार

 

मौरीपालन उद्योगबाट वार्षिक ६५ लाख आम्दानी, छ जनालाई रोजगारी

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिल बहादुर केसी अर्थात मौरीबाजे । उहाँको नाम नेपालभर परिचत छ । नाम मात्रै हैन उहाँको नाम जस्तै बलेवा मौरीपालन उद्योग समेत उस्तै परिचित छ ।

२०५६ सालमा १० हजार लगानीमा एक/दुई वटा मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा अहिले एक करोड लगानी भइसकेको छ ।

उद्योगका रुपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण सिंगो बलेवा समेत परिचित हुँदै आएको छ । एकरदुई घार हुँदै थपिएका मौरीका घार अहिले ३५० पुगेका छन् भने उद्योगबाट वार्षिक दुई हजार ५०० मौरीका घार देश भरका विभिन्न जिल्लामा निर्यात भइरहेका छन् ।

बुढैलीले छुन थालेका केसीका दुई छोराले उद्योगलाई प्रविधिसंग जोडेर आधुनिक मौरीका घार बनाइरहेका छन् ।

“मत ६० वर्ष कटे, मौरीको स्याहार मात्रै गर्छु दुई छोरा जगत र जनकको नेतृत्वमा थप छ जनालाई रोजगारी दिएर आधुनिक मौरीका घार उत्पादन भइरहेका छन्, अहिले चितवनबाट ४०० मौरीका घारको माग अनुसार उद्योगमा धमाधम काम भइरहेको छ” केसीले भन्नुभयो “देशभरका विभिन्न जिल्लाबाट अनुदानमा वितरण गर्ने मौरीका घार यही उद्योगमा निर्माण हुन्छन्, अहिले १० लाखमा युरोपबाट काठ काट्ने आधुनिक उपकरण लिएका छौं, मौरीको मह विक्री, मौरीगोला सहितको घार तथा अन्य घार मात्रै बिक्रीबाट पछिल्लो एक वर्षमा मात्रै ६५ लाख आम्दानी भयो ।”

केसीका चार छोरामध्ये अहिले दुई छोराले बुबाको सिप र दुःखलाई पछ्याइरहेका छन् । वार्षिक तीन क्विन्टल सम्म मह उत्पादन तथा एक वर्षमा दुई हजार पाँच सय मौरीका घार उत्पादन गरेर विक्री गर्दै आएको छोरा जगत केसीले जानकारी दिनुभयो ।

उहाँले अहिले तीन वटा चरन क्षेत्रमा ३५० मौरीका घारमा मह उत्पादन भइहेको जानकारी दिनुभयो । उहाँले मह भन्दा मौरीका घार उत्पादनमा ठूलो लगानी भइरहेको बताउनुभयो ।

“बाबाको सिर्जना समालेका मात्रै हौ, बाबाले मौरीपालन गर्दै आउनुभएको थियो, पछि फर्निचरको समेत काम जन्नुभएकाले आफूलाई चाहिने मौरीको घार आफै बनाउने गर्नुभएको थियो, पछि घारको माग बढ्न थाल्यो, उद्योगलाई प्रविधिसंग जोड्न मात्रै हामीले सघाएका छौं” छोरा केसीले भन्नुभयो “अहिले घार उत्पादन फर्निचरमा छ जनालाई रोजगारी दिएका छौं भने, तीन स्थानमा मौरीको चरन क्षेत्र विस्तार गरेका छौं, अहिले चितवनका लागि ४०० मौरीका आधुनिक घार विक्रीका लागि अन्तिम तयारी छ ।”

उहाँले आधुनिक उपकरणबाट काठ काट्ने, जोड्ने तथा रङ्ग लगाउने गरेको बताउनुभयो । दुई वर्ष अघि २३६ घार भारतको सिक्कम सम्म निर्यात गरेको बताउदै विभिन्न जिल्लामा अनुदानमा वितरण गर्ने गोला सहित र गोला रहितको घार उत्पादन गर्दै आएको उहाँको भनाई छ । मौरीको गोला सहितको घारलाई १० हजार र मौरीको गोला रहितको खाली घारलाई चार हजार देखि पाँच हजार सम्मका दरमा विक्री गरिरहेको केसीले जानकारी दिनुभयो ।

आम्दानीको ३० देखि ४० प्रतिशत रकम बचत भएको बताउदै केसीले गत आर्थिक वर्षमा ६५ लाखको मह र मौरीका घार बिक्री गर्दा रु २५ लाख रकम बचत भएको बताउनुभयो ।

उहाँले मौरीको घार उत्पादनका लागि आवश्यक टुनीको काठ खरिद, विद्युत महशुल, कर्मचारी तलब लगायतमा उद्योगको लाखौ खर्च रहेको बताउनुभयो । टुनीको काठबाट बनेका घारको माग बढि भएको उहाँको भनाई छ ।

बजारमा स्थानीय तहले सघाउन सकेमा हाम्रो जस्तो उद्योगले सयौँलाई रोजगारी दिन सकिने बताउनुभयो । वैज्ञानिक रुपमा घार उत्पादनमा कुनै समस्या नभएपनि बजारीकरणमा भने कागजी प्रकृया झन्झटिलो भएको उहाँको गुनासो रहेको छ ।

बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रु एक हजारमा बजारमा विक्री हुने गरेको छ । उद्योगलाई बागलुङ नगरपालिकाले रु १८ लाख अनुदान दिएको केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung