बागलुङ ।श्रीधराचार्य त्रिदण्डी रामानुज स्वामीजी महाराजको ८६औँ जन्मोत्सवकोअवसरमा तीन जना पत्रकार सम्मानित भएका छन् ।
शालग्राम क्षेत्रको संरक्षण र सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भनि श्रीरङ्गवैकुण्ठ मुक्तिनारायण मन्दिरका ऋषि स्वामी प्रपन्नाचार्यले ऐभिन्युज टिभीका संम्वाददाता राजेशचन्द्र राजभण्डारी, रेडियो नेपालकी संम्वाददाता कोपिला कँडेल र माउन्टेन टिभीका संम्वाददाता सुवास आचार्यलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको हो ।
साथै मन्दिरलाई महत्त्वपूर्ण सहयोग गरेको भन्दै समाजसेवी केशव कार्की र पत्रकार किरण आचार्यलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।बागलुङ नगरपालिका-४ कुँडुलेस्थित श्रीरङ्गवैकुण्ठ मुक्तिनारायण मन्दिरमा श्रावण २५ देखि २७ गतेसम्म त्रिदिवसीय जन्मोत्सव आयोजना गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अनुसार जन्मोत्सवमा अखण्ड श्रीहरि नाम संकीर्तन, १००८ आवृत्ति, श्रीविष्णुसहस्रनाम पाठ, आचार्य आराधना, प्रवचन र अखण्ड भजन आयोजना गरिएको थियो ।
सालग्राम क्षेत्रको संरक्षण, विकास र प्रचारका लागि उल्लेखनीय भूमिका खेलेका पत्रकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको ऋषि स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।
सम्मानित व्यक्तित्व पत्रकार राजेशचन्द्र राजभण्डारीले आजको सम्मानले प्रकृतिको महत्वपूर्ण देन शालग्रामको संरक्षण र प्रकृतिको रक्षाको लागि कलम चलाउन अझ बल मिलेको बताउनुभयो ।















































































































































































































