३ श्रावण २०८३, आईतवार

 

ट्राफिक प्रहरी बागलुङले नियन्त्रणमा लियो १४ वटा मोडिफाइड बाइक

बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले हालै सञ्चालन गरेको विशेष चेकजाँच अभियानमा १४ वटा मोडिफाइड बुलेट र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएका छन्। यी मध्ये अधिकांश मोटरसाइकलहरू बागलुङ बजार क्षेत्रमा नियम उल्लङ्घन गर्दै अनावश्यक हल्ला र जोखिमपूर्ण शैलीमा चलाइँदै आएका थिए।

ट्राफिक प्रहरीले सार्वजनिक उजुरी र बजार क्षेत्रका नागरिकको गुनासोपछि विशेष निगरानी थालेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साइलेंसर मोडिफाइड गरी ठूलो आवाज निकाल्ने, अनधिकृत पार्टपुर्जा जडान गर्ने, स्वरूप परिवर्तन गरेर सडकमा हुज्जत गर्ने, नियम विपरीत गतिमा सवारी साधन चलाउने जस्ता कार्यमा संलग्न मोटरसाइकललाई प्राथमिकताका साथ नियन्त्रणमा लिइएको हो।

यसले सार्वजनिक शान्ति मात्र होइन, सडक दुर्घटनाको जोखिम पनि बढाउने भएकाले कानुनी कारबाही थालिएको प्रहरीको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरले यस्ता कार्यले तपाईँ, म र हामी सबैलाई असुविधा पु¥याउने मात्र होइन, ठूला दुर्घटनाको कारण समेत बन्न सक्ने बताउनुभयो । उहाँले सडक सबैका लागि हो, त्यसैले जो कोहीले पनि आफ्नो रमाइलोका लागि अरूलाई दुःख दिने अधिकार छैन र नियम तोड्ने जो कोहीलाई कानुन अनुसार कारबाही हुने जानकारी दिनुभयो ।

प्रहरी सहायक हवल्दार विमल शर्माका अनुसार, “यो अभियान एकपटकमा मात्र सकिँदैन। हामी निरन्तर चेकजाँच गर्नेछौँ। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो।”  बागलुङ बजारमा विगत केही वर्षयता मोडिफाइड बाइकको हल्ला ठूलो समस्या बनेको थियो ।

त्यस्तै राति सुत्दा बुलेटको आवाजले बच्चासहित वृद्धवृद्धाले समेत निदाउन नसक्ने, बजार क्षेत्रमा पैदल यात्रुहरू अचानक ठूलो आवाज सुनेर तर्सिने, विद्यालय जान–आउने विद्यार्थी, कार्यालय जाने कर्मचारी र सामान्य यात्रुहरूलाई असुविधा हुन्थ्यो।

बुलेट मात्र होइन, अनधिकृत रूपमा स्वरूप परिवर्तन गरिएका सबै मोटरसाइकल, ठूलो ध्वनि प्रदूषण गर्ने सवारी साधन, नियम उल्लङ्घन गरेर बजारमा जोखिमपूर्ण गतिमा गुड्ने सवारीलाई लगायतका यस्ता अभियानलाई ट्राफिक प्रहरीले निरन्तरता दिने जनाएको छ । अब कडाभन्दा कडा कारबाही गर्ने तयारी गरिएको छ।

यस अभियानपछि बागलुङ बजारको वातावरण शान्त र सुरक्षित बनेको छ। पैदल यात्रुहरू ढुक्कसँग हिंड्न थालेका छन्, व्यापारीहरूले आफ्नो व्यापारमा सहजता महसुस गरेको तथा अभिभावकहरूले आफ्ना बालबालिकालाई सडकमा निस्कँदा जोखिम कम भएको बताएका छन्।

अब बागलुङको सडकमा तपाईँ, तपाईँका परिवार र तपाईँका सवारी यात्राहरू अझै सुरक्षित, सहज र विश्वासिलो हुनेछन्।

आदर्श संचारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung