बागलुङ । दशैंमा खेलिने चर्खेपिङ हराउदै जान थालेपछि बागलुङ नगरपालिका–९ सिगानाका पूर्ववडा अध्यक्ष राजन जिसीको सक्रियतामा संरक्षण थालिएको छ । उहाँले गत वर्षदेखि व्यक्तिगत लगानीमा चर्खेपिङ हाल्दै आउनुभएको छ ।
खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ बागलुङ नगरपालिका–८ सिगानामा गत वर्षदेखि हालिदै आइएको छ । लोप हुन थालेको चर्खेपिङ संरक्षणका लागि व्यक्तिगत लगानीमा चर्खेपिङ हालिएको छ । पूर्ववडाअध्यक्ष राजन जिसीले आफ्नै लगानीमा गतवर्षदेखि दसैंमा चर्खेपिङ हाल्न थालिएको बताउनुभयो । उहाँले यो दसैंलाई लक्षितम गरी सिगाना पात्ले नजिकै चर्खे पिङ हालेको जानकारी दिनुभयो ।
बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्तिको अभावमा लोभ भएको पिङ सिगानामा १३ वर्षपछि हाल्न थालिएको छ । १३ वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरेपनि विस्तारै लोप भएका थिए ।
चर्खेपिङ हाल्ने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै आउनुभएको जिसीले ४० हजार लगानीमा चर्खेपिङ निर्माण गरेर संरक्षण मात्रै गर्नुभएको छैन सिगानाभरका नागरिकलाई चर्खेपिङको मज्जा दिइराख्नुभएको छ ।
पछिल्लो युवा पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताउनुभयो । “गत वर्ष ४० हजार खर्च भयो, अहिले त त्यही पोहोरकै सामग्रीहरु जडान गरेर सडक छेउमा पिङहाले पिङ हाले पनि खेल्ने मानिसको समेत अभाव गाउँमा खड्किएको देख्छु” जिसीले भन्नुभयो “पछिल्लो समयदेखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने सबैंको दायित्व हो स्थानीय सरकारले समेत एक गाउँ एक पिङको अवधारणा ल्याउन पर्दछ नत्र चर्खेपिङ लोप भएर जान्छ ।” एक दशक यता बागलुङसहित धेरै स्थानमा यो चर्खेपिङ हराइसकेको छ ।
विगत चार वर्षदेखि बागलुङ नगरपालिका–५ साझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको सक्रियतामा हाल्दै आएको चर्खेपिङ यो वर्ष राख्न नसकिएको वडा अध्यक्ष हरि प्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँले काठ कुहिन थालेपछि पिङ नहालिएको र नयाँ काठ मिर्नाण गर्न समय लाग्ने बताउनुभयो । दशैंमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दशैं, तिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चल्दै आएको थियो । कम खर्चमा हुने लिङ्गे पिङ समेत गाउँमा देखिन छोडेका छन् ।













































































































































































































