बागलुङ। कालीगण्डकी करिडोरका गैडाकोट–राम्दी–मालढुङ्गा सडकमा दर्जनौ ठूला पहिरोले समस्या बनाएको छ । पहिरोका कारण सडक पटक पटक अबरुद्ध भएको छ भने ट्रयाकनै परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जान थालेको पाँच वर्ष पुग्यो ।
वर्खामा एउटै स्थानबाट सधै खस्ने पहिरोले सडक अबरुद्ध हुने उक्त खण्ड करिडोरको समस्याग्रस्त पहिरोको रुपमा चिनिएको छ । यो वर्खा बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा अर्को ठूलो पहिरो करिडोरमा थपिएको छ । उक्त स्थानमा समेत सडकको ५० मिटर ट्रायकनै क्षति पु¥याएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी किरडोरको गैडाकोट–राम्दी–मालढुङगा खण्ड ठूला चट्टान काटेर सडक स्तरोन्नती गरिएकाले ठूला पहिरो खसिरहेको छ । कालीगण्डकी करिडोरकोे गैडाकोट–राम्दी–मालढुङगा खण्डमा पर्ने २४० किमिमा एक दर्जन ठूला पहिरो रहेको आयोजना कार्यालय पाल्पाका इन्जिनियर उत्सव बस्यालले बताउनुभयो । उहाँले चालु वर्षको नयाँ पहिरो अध्ययनमै रहेकाले पहिरो अझै थपिने बताउनुभयो ।
गैडाकोट–राम्दी–मालढुङगा खण्डमा पर्ने २४० किमि र कालीगण्डकी लोकमार्गको मिर्मि–सेतिवेनी–अर्मादी–कुश्माको ५३ सहित जम्मा २९३ किमि सडक रहेकोमा अहिले सम्म ८० प्रतिशत भौतिक र ७० प्रतिशत वित्तिय प्रगति सम्पन्न भएको इन्जिनियर उत्सव बस्यालले बताउनुभयो । उक्त खण्डमा पहिरो मर्मतमै रु ८० करोड खर्चलाग्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०६६÷२०६७ बाट शुरु भएको गैडाकोट–राम्दी–मालढुङगा खण्ड २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ रु २० अर्ब लागत अनुमान गरिएको उक्त खण्डको ७८० प्रतिशत भौतिक प्रगति सम्पन्न गर्न रु। १४ अर्ब ७ करोड खर्च भइसकेको छ ।
अन्तिम चरणमा आएको आयोजनामा चट्टान सहितको पहिरोको चुनौती थपिएको भन्दै पहिरो रोकथामका लागि मात्रै झण्डै रु ८० करोड खर्च लाग्ने देखिएको उहाँको भनाई छ ।
“बागलुङमा समेत तीन ठाउँमा पहिरोले सडकको ट्रायाकनै बगाएको छ, पुरानै अवस्थामा फर्काउन ठूलो खर्च लाग्छ, अहिले कालोपत्र सम्पन्न भइसकेको खण्डमा समेत चट्टान सहितको पहिरोले समस्या बनाएको छ, पन्छाउने मात्रै काम भइरहेको छ” इन्जिनियर बस्लालले भन्नुभयो “अक्करे भीर काटेर बनाइएको सडकमा चट्टान सहितको पहिरो खस्ने काम निरन्तर चलिरहेको छ, बजेट हुँदासाथ पहिरो मर्मत तर्फ आयोजनाको ध्यान जान्छ ।”
गैडाकोट–राम्दी–मालढुङगा खण्डमध्ये बागलुङ खण्डमा ३४. ७० किमि सडक पर्दछ । जसमध्ये बलेवा–जैमिनी खण्डको २४ किमि सडक कालोपत्र सम्पन्न भइसकेको छ भने बलेवा–मालढुङ्गा सडकको १० किमि सडक कालोपत्रको चरणमा छ । बलेवा–मालढुङ्गा खण्डमा भने बल्ल ५६ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०७९ मंसिर २६ गते ३६ महिनामा निर्माण सक्नेगरि कालिका कन्ट्रक्सनले करिडोरको बलेवा हर्मिचौर खण्डको जिम्मा लिए र सम्पन्न गरेको छ भने बलेवा मालढुङ्गा खण्डको १० किमि सडक खड्का, कृष्ण बिएन जेभीले २०७९ मंसिर २९ गते २ वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । ठेक्का नसक्दा म्याद थप गरेर काम गरिरहेको छ । चालु आर्थिक वर्षमा समेत उक्त खण्डको काम सम्पन्न गरिने र करिडोरको ध्यान ठूला पहिरो मर्मतमा जाने इन्जिनियर बस्यालको भनाई छ ।













































































































































































































