बागलुङ । पर्यटकीय क्षेत्र सफा राख्ने जिम्मेवारी पर्यटकको पनि हो भन्ने सन्देश मुलक पदयात्रा गरिएको छ । हिमाली क्षेत्रको वातावरण स्वच्छ राख्न र दिगो पर्यटन प्रवद्र्धनको लागि लायन्स क्लब अफ धौलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामले सन्देश मुलक पदयात्रा आयोजना गरेको छ ।
पर्यटकीय क्षेत्रको सरसफाइको जिम्मेवारी त्यस क्षेत्रमा जाने पर्यटकको पनि भएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारीले बताउनुभयो ।
लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारीले चार हजार एक सय नब्बे मिटर अग्लो स्थानमा भएको अन्नपूर्ण प्रथम बेस क्याम्पमा गएर उक्त सन्देश दिएका थिए ।
उक्त पदयात्रामा लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारी, लियो क्लब अफ धौलागिरि बागलुङका संस्थापक सदस्यहरु नारायण सिंह क्षेत्री, अर्जुन शर्मा, दिसान्त सापकोटा र लायन्स क्लब अफ बागलुङ पञ्चकोटका सचिव विराट पौडेलको पनि उपस्थिति रहेको थियो ।
गत कार्तिक ७ गतेदेखि ९ गतेसम्म बागलुङ, म्याग्दीको तातोपानी, हुङखोला, गुराँसे डाँडा, सादीखर्क, गुफाफाँट हुँदै अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा गरिएको थियो ।
यो पदयात्रा छोटो र रोमाञ्चक पदयात्राको मार्ग हो।हिमाललाई पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक मानव सभ्यता विकास भएको प्रमुख अंगको रूपमा लिने गरिन्छ ।
यो क्षेत्र जलाधार, जैविक विविधताको भएको पर्यावरण, साहसिक पर्यटनको सम्भावना र पदयात्राका कारण धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गर्दछन् ।
जस्ले गर्दा पछिल्लो वर्षहरूमा हिमाल आरोहणमा व्यापक रुपमा वृद्धि भएपछि त्यस क्षेत्रमा फोहोरपनि थुप्रिन थालेकाले हिमालको स्वच्छता कायम गर्न सरसफाइ गर्नु पर्ने आवाज र अभियान सुरु भएको छ ।















































































































































































































